२१ निर्वाचन क्षेत्रमा पार्टीभित्रको अन्तरघातले पराजय : कांग्रेस

चैत्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
२१ निर्वाचन क्षेत्रमा पार्टीभित्रको अन्तरघातले पराजय : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तिमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तरघातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ ।

कांग्रेसको जारी केन्द्रीय समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो । पार्टीका प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतः आन्तरिक कारण जिम्मेवार रहेको देखिएको जानकारी दिनुभयो । ३ हजारदेखि ५ हजारसम्मको मतान्तरले हार भएका क्षेत्रहरूमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमै कमजोरी भएको उहाँले बताउनु भयो । 

५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तरघात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको उहाँले बताउनु भयो । त्यसलाई प्रभावकारी रूपमा सामना गर्न नसकिएको कारण पराजय व्यहोर्नुपरेको उहाँले जानकारी दिनुभयो । 

केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभइ मतदाताको कांग्रेसलाई गर्ने विश्वासमै कमी आएको देखिएको उहाँको भनाइ छ । उहाँले ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको कांग्रेसले अपेक्षित मत पाउन नसक्नु पनि गम्भीर प्रश्न बनेको बताउनु भयो । 

उहाँले पार्टीको सदस्यता विस्तार हुँदै जाने तर मत भने घट्दै जानु चिन्ताजनक भएको बताउनु भयो । उहाँका अनुसार कांग्रेसको ९ औँ महाधिवेशनमा करिब १ लाख सदस्य रहेका थिए । १४औँ महाधिवेशनसम्म आइपुग्दा त्यो संख्या बढेर ८ लाख ७० हजार पुगेको छ, तर मत भने कांग्रेसले १७ लाख ५९ हजार ल्याएको छ । 

उहाँले कांग्रेसको केन्द्रीय समितिको बैठकमा चुनावी प्रदर्शन र आगामी दिनमा मतदाताको विश्वास पुनःआर्जन गर्ने सन्दर्भमा विस्तृत समीक्षा गरिरहेको जानकारी दिनुभयो । उहाँले जारी केन्द्रीय समितिको बैठकमा मुख्यतः निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी दुई विषयमा केन्द्रित भएर छलफल भइरहेको जानकारी दिनुभयो । बैठकले कांग्रेसलाई फेरि सशक्त बनाएर जनतामाझ लैजानेगरी कार्यदिशा तय गर्ने उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.