
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै ‘कार्यात्मक स्वायत्तता’मा जाने निर्णय गरेको छ ।
नेविसंघका सभापति दुजाङ शेर्पाले अब नेविसंघ नेपाली का|ग्रेसको परम्परागत ‘भ्रातृ संगठन’ मात्र भएर नबस्ने बरू ‘शुभेच्छुक संगठन’ को रूपमा स्वायत्त ढंगले अघि बढ्ने घोषणा गर्नुभएको हो । सभापति शेर्पाकाअनुसार नेविसंघले अब आफ्नो विधान आफैँ बनाउने, आफ्नो नेतृत्व आफैँ चयन गर्ने र आफ्ना कार्यक्रमहरू स्वतन्त्र रूपमा तय गर्नेछ ।
उहाँले एउटा सामान्य विज्ञप्ति निकाल्न वा आन्दोलनका कार्यक्रम तय गर्न पनि पार्टीका पदाधिकारीहरूसँग अनुमति लिनुपर्ने झन्झटिलो प्रक्रियाले विद्यार्थी आन्दोलन कमजोर भएको तर्क गर्नुभयो । यो निर्णयलाई उहाँले ‘सेपरेसन’ भन्दा पनि विद्यार्थीको मुद्दामा केन्द्रित हुनका लागि लिइएको ‘फङ्गशनल अटोनोमी’ को रूपमा बुझ्न आग्रह गर्नुभयो ।