विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस् : नेता सिटौला

फाल्गुन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस् : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताउनुभएको छ ।

बुधबार सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको आन्तरिक विवादसँग जोडिएर सर्वोच्च अदालतमा पुगेको मुद्दालाई छिटो किनारा लगाउन आग्रह समेत गर्नुभयो । 

विशेष महाधिवेशनबारे नेता सिटौलाले संस्थागत रूपमा आफूहरूले त्यसलाई आवश्यक नठानेको स्पष्ट पार्नुभयो । पार्टीको आन्तरिक विषयलाई लिएर सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाले पार्टीको आगामी बाटो तय गर्न प्रभाव पार्ने भएकाले यसलाई छिटो टुङ्ग्याउनुपर्नेमा उहाँको जोड छ । 

अदालतको फैसलापछि मात्रै पार्टीभित्रको अन्योल हटेर अगाडि बढ्न सहज हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘ विशेष महाधिवेशनलाई हामीले उचित ठानेका छैनौँ अहिलेसम्म पनि । अहिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा छ त्यसलाई छिट्टै टुङ्ग्याओस् हामी त्यही चाहन्छौँ र सर्वोच्च अदालतका न्यायाधीशहरूले त्यसलाई छिट्टै टुङ्ग्याइदिए हुन्थ्यो । त्यति मात्रै हाम्रो रिक्वेस्ट हो कसरी टुङ्ग्याउँछ हेर्न बाँकी छ नि त ।’

यद्यपि अदालतले उक्त मुद्दालाई कुन रूपमा फैसला गर्छ भन्नेकुरा भने प्रतिक्षाकै विषय रहेको उहाँले बताउनु भयो । पार्टीको आन्तरिक विवाद अदालतसम्म पुग्नु र नेतृत्व तहबाटै अदालतको फैसलाको प्रतिक्षा गरिनुले कांग्रेसभित्रको वर्तमान राजनीतिक तरलता र गुटगत मतभेदलाई प्रस्ट पारेको छ । अदालतको फैसला आएपछि मात्रै पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा थप छलफल हुने नेता सिटौलाको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.