
बुटवल । नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालमा अड्केर नबस्न निर्देशन दिनुभएको छ ।
बुटवलमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालमा अड्केर बस्नु साटो जनताको घरमा जान र सम्झाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस् । जनताको घरमा जानुस् । सामाजिक सञ्जालमा सबै सत्य कुरा आउदैनन् झुक्काउछन् ।’
थापाले पार्टीका नेता-कार्यकर्ताहरूसँग रिसाएका नवयुवालाई पार्टीका बारेमा सम्झाउन पनि आग्रह गर्नुभयो । ‘उनीहरूले पहिला दुई लाइन गाली गर्लान् । उनीहरूसँग राम्रोसँग संवाद गर्नुस् ।, सभापति थापाले कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ संकल्प गरेर आएको कुरा नवयुवालाई बताउन पटक-पटक नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।
‘यो कुरा बताउनुस् । हिजोका तमाम सबै राम्रा कुराहरूलाई बोक्छु, हिजोका तमाम खराब कुरालाई छोड्छु भनेर एउटा नयाँ संकल्प गरेर आएको छ । ’ उहाँले भन्नुभयो । सभापति थापाले कुनै एउटा व्यक्तिले चमत्कार गरेर केही नबदलिने भन्दै देश बदल्न सिंगो पार्टी र नेताकार्यकर्ता बदलीनुपर्ने बताउनुभयो ।
उहाँले रास्वपा नेता बालेन्द्रप्रति इंगीत गर्दै भन्नुभयो कसैलाई कोर्रा लगाउँदैमा र कसैलाई खोरमा थुनदैमा अलपत्र विकास पूरा नहुने बताउनुभयो । ‘कोही मेरा साथी म प्रधानमन्त्री भए सबै बदल्छु भनेर हिँड्नुभएको छ । विकासका लागि सिंगो पार्टीको भिजन चाहिन्छ । सडक पूर्वाधार छिटो सक्न ४१ वटा कानुन सच्चाउनुपर्छ ।’ उहाँले भन्नुभयो ।