
काठमाडौं । कर्णाली प्रदेशले जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
बुधबार भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई १६ रनले पराजित गरेको हो । जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णालीले ३९ ओभर एक बलमा अल आउट हुँदै एक सय ५१ रन बनाएको थियो । शीर्ष तीन ब्याटर सस्तैमा मैदान बाहिरिए ।
रविन्द्र शाहीले खाता खोल्न सकेनन् । अरविन्द घर्ती ५ र सुनिल धमला १९ रनमा आउट भएका थिए । विपिन रावलले ३२ र विपिन शाहीले ६३ रन जोडेपछि कर्णालीले सामान्य योगफल बनाएको थियो । अर्जुन घर्ती शून्यमा मैदान बाहिरिँदा कप्तान दिवन पुनले २० रनमात्र बनाए । प्रेम कामतले ४, ज्ञानेन्द्र श्रेष्ठले तीन तथा सुनज थपलियाले दुई विकेट लिए ।
जवाफमा दिनेश अधिकारीले उत्कृष्ट बलिङ गरेपछि कर्णालीले कोशीलाई ४४ ओभर ४ बलमा १ सय ३५ रनमा अल आउट गर्यो । सकिब हक १७, अंकित सुबेदी १७ र कप्तान सुजन थपलिया तीन रनमा आउट भए । सुमन श्रेष्ठले २०, दिपेश कंडेलले २६ र सिवस बजगांइले २३ रन बनाए ।
सोनु अन्सारी र फिरदोस अन्सारी खाता नखोल्दै पभेलियन फर्किए । दिनेशले ८ ओभर ४ बलमा २७ रन खर्चिएर ५ विकेट लिएपछि कर्णालीको जीत संभव भएको हो । दिवन र प्रकाश जैसीले एक-एक विकेट लिए । कर्णालीले दुई खेलबाट तीन अंक जोडेको छ । कोशीको तीन खेलबाट एक अंक छ ।