निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेन्डा हुन् : सुनिल शर्मा

फाल्गुन १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेन्डा हुन् : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै आफ्नो मुख्य चुनावी एजेन्डा भएको बताउनुभएको छ ।

पथरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा. शर्माले ‘कांग्रेस बोल्छ कम, काम बढी गर्छ’ भन्ने गिरिजाप्रसाद कोइरालाको मान्यतालाई आफूले व्यवहारमा उतारेको दाबी गर्नुभएको हो । उहाँले पथरीमा निर्माण भएको ३५ करोडको खानेपानी ट्याङ्की र ३० वर्षदेखि अलपत्र रहेको पथरी-डायनिया-सिक्टी व्यापारिक मार्गको निर्माण कार्यलाई आफ्नो प्रमुख उपलब्धीको रूपमा प्रस्तुत गर्नुभयो । 

डा. शर्माले गत ३५ वर्षदेखि सुकुम्बासीहरूले भोग्दै आएको धनीपुर्जासम्बन्धी समस्या समाधानका लागि आफूले ठोस पहल गरेको बताउनु भयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा आफ्नो विशेष रूचि रहेको बताउनुहुँदै डा. शर्माले २५ वर्षदेखि रोकिएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनको निर्णय गराउन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । 

उहाँले आगामी दुई हप्ताभित्र डाक्टर पढ्ने विद्यार्थी आउने र पाँच वर्षभित्र पाँच सय शैय्याको अत्याधुनिक टिचिङ अस्पताल निर्माण हुने घोषणा गर्नुभयो । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिनुहँदै उहाँले २०७९ को निर्वाचनमा जस्तै अपार माया र आशिर्वादको अपेक्षा गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.