
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक स्थिरता र सुशासनका लागि पाँच वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन पद्धति आवश्यक रहेको बताउनुभएको छ ।
मोरङको निर्वाचन क्षेत्र नं ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेसले अब देशलाई नयाँ भिजन र स्पष्ट मार्गचित्रका साथ अगाडि बढाउने उद्घोष गर्नुभएको हो । उपसभापति शर्माले पछिल्लो समय नेपाली कांग्रेसप्रति जनलहर सिर्जना भएको दाबी गर्नुभयो ।
उहाँले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री रामवीर मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मधेश प्रदेश सभापति ममता शर्मा र रास्वपाकै जिल्ला सभापति भरत पराजुलीलगायतका प्रभावशाली नेताहरू कांग्रेसमा प्रवेश गरेको जानकारी दिनुभयो ।
‘अहिले कांग्रेस मात्र जुटेको छैन, अन्य दलबाट शुभेच्छा राख्ने हजारौँ नेपालीहरू कांग्रेसमा समाहीत भइरहनुभएको छ ।’ शर्माले भन्नुभयो, ‘एमालेमा ३५ वर्ष बिताएका र मन्त्री भइसकेका रामवीर मानन्धरदेखि रास्वपाको सिङ्गै प्रदेश कमान्ड गर्ने ममता शर्मासम्मले कांग्रेसको रूख चिन्ह रोज्नुले कांग्रेसको बढ्दो आकर्षण पुष्टि गर्छ ।’
पाँच वर्ष टिक्ने प्रधानमन्त्री र सुशासनको बहस
शर्माले देशमा पटक-पटक सरकार परिवर्तन हुने खेलले विकास रोकिएको बताउँदै अब पाँच वर्ष टिक्ने प्रधानमन्त्रीको पद्धतिका बारेमा गम्भीर बहस हुनुपर्ने प्रस्ताव राख्नुभयो । उहाँले भन्नुभयो, ‘हामी स्थिर सरकार र सुशासन चाहन्छौँ भने के–के सुधार गर्ने हो, त्यसमा छलफल गरौँ । निर्वाचनलाई युद्धको मैदान नभइ परख गर्ने थलो बनाऔँ ।’
भ्रष्टाचार नियन्त्रणका लागि कांग्रेसले कठोर नीति लिएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘कांग्रेसको तर्फबाट मन्त्री, प्रधानमन्त्री वा वडाध्यक्ष जोसुकै भए पनि भ्रष्टाचारको मुद्दा दर्ता हुनासाथ तत्काल साधारण सदस्यबाट निष्कासित गरिनेछ । निर्दोष प्रमाणित भए फिर्ता आउने बाटो खुला रहनेछ, तर दोषीलाई कुनै छुट हुनेछैन ।’
विदेशिएका नेपालीका लागि ’जीडीपीपी’ अवधारणा र बूढीगण्डकी परियोजना
विदेशमा रहेका नेपालीहरूलाई देशको विकासमा जोड्न कांग्रेसले ‘जीडीपीपी’ को अवधारणा ल्याएको शर्माले बताउनु भयो । उहाँले १२ सय मेगावाटको बूढीगण्डकी परियोजनालाई राष्ट्रिय गौरवको रूपमा अगाडि बढाउने र त्यसमा डायस्पोराको लगानी सुनिश्चित गर्ने योजना सुनाउनु भयो ।
‘काठमाडौंको एयरपोर्टमा अङ्गालो मारेर बुद्ध जन्मेको देश नछोड भन्दैमा युवाहरू रोकिँदैनन्, उनीहरूलाई भिजनले बाँध्नुपर्छ ।’ शर्माले थप्नुभयो, ‘बूढीगण्डकी परियोजनाबाट बिजुली मात्र होइन, माछा पालन र पर्यटनको ठूलो सम्भावना छ, जसले मधेशको सिँचाई र खानेपानी समस्या समेत हल गर्नेछ ।’
‘मेरो वडा म जिताउँछु’ अभियान र सुनिल शर्माको समर्थन
उपसभापति शर्माले मोरङ क्षेत्र नं ३ का उम्मेदवार डा. सुनिल शर्मालाई भारी मतले विजयी गराउन अपील गर्नुभयो । उहाँले डा. शर्मालाई ‘गरिबीको गहिराइबाट उठेर हजारौँको जीवन बचाएको सक्षम युवा’ को रूपमा चित्रण गर्नुभयो । चुनाव जित्नका लागि प्रत्येक कार्यकर्तालाई आफ्नो वडाको जिम्मेवारी लिन आग्रह गर्दै उहाँले ‘मेरो वडा म जिताउँछु’ अभियान चलाउन निर्देशन दिनुभयो ।
‘व्यक्ति सुनिल शर्मालाई मात्र होइन, सिङ्गो कांग्रेसको भिजनलाई जिताउनु पर्छ ।’ शर्माले भन्नुभयो, ‘२५ गते बिहान जब सुनिल शर्मा विजयी भएको खबर सुनिनेछ, त्यो नै यो क्षेत्रको समुन्नतिको सुरूवात हुनेछ ।’ कार्यक्रममा उहाँले विपक्षीलाई गाली नगरी संस्कारयुक्त राजनीति गर्न र मतदाताको मन जितेर परिणाम निकाल्न कार्यकर्ताहरूलाई प्रेरित गर्नुभयो ।