
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपालीले नचाहेको भए पनि यो निर्वाचन अपरिहार्य रहेको भन्दै सफल बनाउनुपर्ने बताउनुभएको छ ।
बुटवलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा भुसालले एउटा असाधारण भवितव्यको निकास निर्वाचनमा जानेबाहेक अर्को नभएकाले निर्वाचन अपरिहार्य भएको बताउनुभयो । प्रमुख राजनीतिक दलका नेताहरू- केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायतका नेताहरूलाई नालायकीको संज्ञा दिनुहुँदै भुसालले उनीहरूले नै देश संकटमा पुर्याएको बताउनुभयो ।
भविष्यमा उनीहरूलाई दोहोरिन नदिने संकल्प गर्नुपर्ने पनि उहाँको भनाइ छ । नेता भुसालले राजनीतिक पार्टीहरूको नालायकीपनलाई उजागर गरी राष्ट्रिय संकल्प गर्नुपर्ने भए पनि त्यसो नगरी निर्वाचनमा जाने तयारीले समस्या लुकाउने काम मात्र भएको हो कि भन्ने आशंका गर्नुभयो ।
भू-राजनीतिक दबाबमा रहेको सानो राष्ट्र कमजोर बन्दै गएको भन्दै गौरीबहादुर कार्की नेतृत्वको आयोगले पनि यथार्थ उजागर नगर्ने बताउनुभयो । नेता भुसालले निर्वाचनपछि पनि पुरानै प्रवृत्ति दोहोरिने र विकासको पर आश्रित बाटोले रोजगारी नदिने, विचौलियातन्त्र बलियो हुने, सुशासन नहुने दाबी गर्नुभयो ।
नेता भुसालले राजनीतिलाई घरेलुकरण गर्नुपर्ने, पश्चिमेली मोडेलबाट मुक्त भएर नेपाली बाटो खोज्न आग्रह गर्नुभयो ।