
दोलखा । निर्वाचन नजिकिएसँगै दोलखामा दलहरूले चुनावी प्रचार र घरदैलो अभियान तीव्र पारेका छन् । विकाससहितका आधारभूत आवश्यकताबाट वर्षौदेखि पछाडि पर्दै आएको जिल्लाको दुर्गम क्षेत्रका मतदातालाई भने निर्वाचनले छुन सकेको छैन । उम्मेदवारको बाटो हेरिरहेका दुर्गम क्षेत्रका कतिपयले मतदान गर्न जाँदा हुनसक्ने अप्रिय घटनामा सुरक्षाको ग्यारेन्टी मागिरहेका छन् भने केहीले विगतका वाचा पूरा गर्न उम्मेदवारले जितेपछि नफर्किएको गुनासो पनि गरेका छन् ।
दोलखाको विग गाउपालिका- १ ठाडीमा तामाङ समुदायको ३ सय ८४ घर बाक्लो बसोबास छ । भोट बैंकका रुपमा रहेको ठाडीमा मात्रै झण्डै ६ सय मतदाता तामाङ समुदायका छन् । चुनाव नजिकएसागै कतिपय मतदाताले मतको र आफ्नो सुरक्षाको चिन्ता गरेका छन् भने कतिपयले विगतका वाचा पूरा नगरेको भन्दै आक्रोस पोखेका छन् ।
भोट खसाल्न जान पनि कतिपयले विगतकै जस्तो असुरक्षा हुन्छ की भन्ने आशंका गरेका छन् । ति मध्यका एक हुन दोलखाका मतदाता बाथुर तामाङ । जसले सुरक्षित भोट हाल्न जान पाउने इच्छा राखेका छन् । त्यसैगरि दोलखाका सोममई तामाङको पनि उस्तै इच्छा रहेको छ ।
ठाडीमा बालबालिकाको पढाइको भविष्य र बिरामी पर्दा घण्टौं हिँडेर स्वास्थ्य चौकी धाउनुपर्ने समस्या छ । उब्जनीले मुस्किलले ३ महिना खान पुग्ने ठाडीका मतदाता विगतमा गरेको प्रतिवद्धता पुरा गर्ने दल र उम्मेदवारले कुनै काम नगरेको भन्दै आक्रोसमा छन्।
सबैजसो चुनावमा ठाडी भोट बैंक बन्यो तर परिवर्तन भने हुन सकेको छैन । जसका कारण घरदैलोमा आउने उमेदवारले विस्वासिलो प्रतिवद्धता गरे मात्रै मतदान गर्ने योजनामा दोलखाकी सुकछिरी तामाङ रहेकी छिन् ।
यो चुनावमा गाउँ पस्दा उम्मेदवारले प्रलोभन भन्दा स्पष्ट योजना लिएर आउन दोलखाका छिरिङ तामाङ र विष्णुकुमारी श्रेष्ठको आग्रह छ ।
हरेक निर्वाचनमा विगुका अन्य दुर्गम गाउँलाई भोट बैंकका रुपमा दलहरुले प्रयोग गर्दै आएका छन् । यस भेगका मतदाताले गाउँको अवस्था परिवर्तन हुन्छ भनेर विगतमा आश्वासन पाएपनि अझै शिक्षा, स्वास्थ्य दिगो सडकलगायतका पूर्वाधार बनेका छैनन् । यो निर्वाचनमा दुर्गमका गाउँका मतदाताको मन रिझाउन योजना लिएर पुग्ने उम्मेदवारलाई मत दिने सोचमा छन् ।