
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यबाट सधैं उपेक्षित हुँदै आएको मधेशी र मधेशले कहिले न्याय पाउने भन्दै मुलुक नेतृत्वकर्ता दलहरूसित प्रश्न गर्नुभएको छ।
राजविराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मधेशको जनसंख्या ६० प्रतिशत हुँदा पनि सो बमोजिम संसदमा उपस्थिति नहुँदा मधेशले सधैं अन्याय र अपमान सहनुपरेको गुनासो गर्नुभयो । आफुहरूले मधेश विद्रोहदेखि नै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्छ भन्ने माग गरिरहँदा पनि शासकवर्गले यस विपरित गर्दा मधेशले न्याय पाउन नसकेको उहाँको भनाइ थियो।
अहिलेको युगमा राज्यले जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी र कानुनी सहायताको व्यवस्था मिलाउनुपर्नेमा उहाँको जोड थियो। अहिलेको सात प्रदेश अव्यवहारिक भएको र भएका प्रदेशलाई पनि अधिकार नदिएर संघीयता भाँड्ने खेलामा कोही लागेको छ भन्ने दिवास्वप्न हुने जसपा अध्यक्ष यादवको भनाइ छ।
जसपा अध्यक्ष यादवले अहिलेको समाधान भनेको संघीय गणतन्त्रलाई बलियो बनाउनु, समानुपातिक समावेशी प्रतिनिधित्वलाई बढाउनु र यसका लागि संविधान संशोधन आवश्यक भएको प्रष्ट पार्नुभयो। प्रतिनिधि सभा सदस्यको सप्तरी-३ का उम्मेदवारसमेत रहनुभएका अध्यक्ष यादवले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले राजविराजमा आयोजित रोड शाेका क्रममा मधेशका नेता गजेन्द्रनारायण सिंहको सालिकमा माला फ्याँकिएको घटनालाई “अराजनीतिक र असंवेदनशील” कार्य भएको टिप्पणीसमेत गर्नुभयो।