निर्वाचनमा बाँदर र बँदेल धपाइदिने उम्मेदवार जो खोजिरहेछन्

माघ २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनमा बाँदर र बँदेल धपाइदिने उम्मेदवार जो खोजिरहेछन्

अर्घाखाँची । घरदैलोमा भोट माग्न पुगिरहेका उम्मेदवारसँग कतिले गाउँमा बाटो बनाइदिन माग गर्दैछन्, कतिले पानी, बिजुली र अन्य पूर्वाधार पुर्याइदिन माग गरेका छन् । कति यस्ता मतदाता छन् जसले आफ्नो खेतबारीमा पसेर हैरान गर्ने बाँदर र बँदेलजस्ता जनावर धपाइदिन माग गरिरहेका छन् ।

धनकुटा पाख्रिबासस्थित पञ्चकन्या टोलकी बिन्द्रमाया राईलाई बाँदरले हैरान बनाएको निकै भइसक्यो । बाँदरले खेतबारी नै सखाप पार्ने गर्दा उब्जनी जोगाउनै नसकिने अवस्थाले बिन्द्रमायालाई सालिन्दा तनाव हुन्छ । 

धनकुटाकै ओख्रे गाउँकी सरिता जिमीको पनि उही समस्या हो । कृषिमै आश्रित बिन्द्रमाया र सरिताहरुलाई हरेक निर्वाचनमा मत माग्न पुग्ने उम्मेदवारले बाँदर नियन्त्रणको वाचा गरेको सम्झना छ । तर ती वाचा पूरा भएको सम्झना छैन ।

बाँदरकै पिरलोले धनकुटाको धेरै खेतीयोग्य जमिन बाँझो छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचितहरुले यो समस्या कसरी समाधान गर्लान् ? घरदैलोमा उम्मेदवार पुग्दा उनीहरुले यहि प्रश्न गर्नेछन्, हाम्रा खेतबारीबाट बाँदर धपाउने कसले र कसरी ?

पाल्पाका स्थानीय तहहरुले हरेक वर्ष बाँदर नियन्त्रणकै लागि बजेट छुट्याउँछन् । तर न त्यस्तो बजेट खर्च हुन्छ, न खेतबारी बाँदरबाट सुरक्षित हुन्छ । बगनासकाली गाउँपालिकाले गत र चालु आर्थिक वर्षमा विनियोजन गरेको बाँदर नियन्त्रणको बजेट खर्च गरेन । रैनादेवीछहरा गाउँपालिकाले गुलेली वितरण गरेर टा¥यो । 

तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका, रामपुर नगरपालिकासँग पनि बाँदर नियन्त्रणका लागि छुट्याइएको बजेट खर्च उपाय छैन । मान्छे सहर पसेपछि गाउँमा बाँदरको बिगबिगी छ । खेतबारीमा मात्र होइन, घरमा भएको अनाज जोगाउन पनि उत्तिकै समस्या छ । बाँदर धपाउनमै दिन बित्छ ।

अर्घाखाँची लगायत पहाडी जिल्लामा बाँदर र बँदेलको बढ्दो हैरानीका कारण किसान बसाइँ नै सर्न बाध्य छन् । किसानले लगाएका मकै, कोदो, आलुजस्ता कृषिबाली बाँदर र बँदेलले नष्ट गर्न थालेपछि खेती गर्नु पनि कसरी ? अर्घाखाँचीमा वार्षिक करिब १८ सय स्थानीबासी बसाइँ सर्न थालेकोे जिल्लाका ६ स्थानीय तहको तथ्यांकमै उल्लेख छ ।

शीतगंगा, भूमिकास्थान, मालारानी, छत्रदेव, पाणिनी र सन्धिखर्कका वन क्षेत्र नजिकका बस्तीमा समस्या झन् गम्भीर छ । अर्घाखाँचीका प्रतिनिधिसभाका सदस्य पदका उम्मेदवारहरुले आपूmलाई मत दिएर जिताए यी सबै समस्या समधान गर्न कानुन नै बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यतm गरेका छन् ।

हरेकजसो चुनावमा नेता, स्वतन्त्र र दलका उम्मेदवारले मतदातामाझ गाउँ पसेर विकास र समृद्धिका सपना बाँड्छन् । बाँदर र बँदेल नियन्त्रणको वाचा पूरा गर्न उम्मेदवारहरुलाई सजिलो पनि छैन न त बढ्दै गएको बसाइँसराइ रोक्नै सहज छ । तर किसानले यसपालि पनि आफ्ना माग पूरा गर्न सक्ने उम्मेदवारलाई नै मत हाल्नेछन् ।

                                         विनोद घिमिरे धनकुटा र रुद्रमणि भूसाल अर्घाखाँची


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.