भारी पराजयपछि कांग्रेस र एमालेमा समीक्षा माग, नेतृत्व मौन

फाल्गुन २७, २०८२ |प्रकाश बम
भारी पराजयपछि कांग्रेस र एमालेमा समीक्षा माग, नेतृत्व मौन

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले निर्वाचनमा अप्रत्याशित हार व्यहोरेपछि पार्टीभित्र नेतृत्व तहको औचित्य, रणनीतिक कमजोरी र जिम्मेवारीबारे बहस सुरु हुन थालेको छ । 

भारी जनमतले अस्विकृत हुनुको कारणबारे गम्भिर समीक्षा हुनुपर्ने बहस सुरु भए पनि नेतृत्व भने हारको जिम्मेवारी लिने विषयमा अझै मौन छ । पार्टीमा नैतिक जिम्मेवारी लिँदे राजीमानामा वा विकल्प दिनुपर्नेमा आवाज मुखरित हुँदा संस्थापन पक्षमा भने सन्नाटा छाएको छ । 

कांग्रेसमा विशेष महाधिवेशनको औचित्य समाप्त भएको र एमालेमा महाधिवेशनबाट अनुमोदित नेतृत्वमा जनमतमा अस्विकृत भएकाले विकल्प दिनुपर्ने माग बढेको छ । विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेर चुनावमा होमिएको नेपाली कांग्रेस बढारिएको छ । 

कांग्रेस इतिहासकै कमजोर हुँदै लज्जास्पद हार व्योहोर्न बाध्य भयो । सभापति गगन थापासहित चुनावमा गएका कुनै पनि पदाधिकारीले जित्न सकेनन् । निर्वाचनको नतिजा सावर्जानिक हुँदै जाँदा कांग्रेसमा पुन: विवाद सुरु भएको छ । संस्थापन इतर पक्षले हारको मुख्य कारण नै विशेष महाधिवेशन भएको तर्क गर्न थालेको छ । निर्वाचनमा पार्टीले अस्वभाविक पराजय व्यहोरेकाले विशेष महाधिवेशनको औचित्य सकिएको इतर पक्षको भनाइ छ ।

यता संस्थापन पक्षले भने अहिले बोलिसकेको छैन । सभापति थापा निकटका नेताहरु भने देउवाको नेतृत्वमा चुनावमा जाँदा पार्टी झन् कमजोर हुने थियो भन्ने अनुमानयुक्त तर्क गरिहेका छन् । सभापति थापाले राजीनामा दिने विषयमा छलफल रहेको चर्चा चलिरहेको छ । तर इतर पक्षले भने नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा मिडिया ट्रायल गरिरहेको भनिरहेको छ ।

दुवै पक्षबीचमा अहिले निर्णायक संवाद हुन सकेको छैन । पार्टी कमजोर भएको बेलामा दुवै पक्षबीच विवाद समाधान गरी अघि बढ्ने प्रयास थालिँदै छ । त्यसका लागि तत्काल नियमित महाधिवेशनमा गएर पार्टीभित्रको एकता जोगाउने गरी संवाद गर्ने तयारी गरिरहेका छन् ।

यता नेकपा एमालेको अवस्था झन् खराब छ । पार्टीले लज्जास्पद हार व्यहोर्दा संस्थापन पक्षमा सन्नाटा नै छाएको छ । पार्टी नेतृत्वले हारको विषयमा कुनै पनि धारणा सार्वजानिक गरेको छैन । अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा गएको एमाले सानो आकारमा मात्र सीमित भयो । पार्टीमा हारको गम्भीर समीक्षा हुनुपर्ने र अध्यक्ष ओलीले नै विकल्प दिनुपर्ने पदाधिकारी तहकै नेताहरु बताउन थालेका छन् ।

योगेश भटराई, सुरेन्द्र पाण्डे, रचना खड्का, उषाकिरण तिमिल्सिनालगायतका नेताहरु नेतृत्वमाथि प्रश्न उठाइरहेका छन् । संस्थागत रुपमा अहिलेसम्म पार्टी हारको विषयमा एमालेभित्र छलफलका लागि प्रवेश भएको छैन । संस्थापन पक्षले पार्टीले व्योहोरेको हारको विषयमा समीक्षा गर्ने बताइरहेको छ । 

त्यसका लागि नेताका धारणा औपचारिक माध्यममा पार्टी बैठकमा बहस गर्न सकिने भएपनि नीति र नेतृत्वका कमजोरी देखाउनुको सट्टा एकता खोज्नुपर्नेमा एमालेकै कतिपय नेताहरुको जोड छ । निर्वाचनको मुखमा एमालेले महाधिवेशनमार्फत चयन गरेको नेतृत्व जनमतमा पूर्णरुपमा अस्विकृत भएको छ । 

यता कांग्रेसले विशेष महाधिवेशनमार्फत चयन गरेको नेतृत्वसमेत अस्वीकृत भएको छ । नेतृत्व असफल मात्रै नभइ उसको सान्दर्भिकता पनि समाप्त जस्तै भएको अवस्था छ । तर दुवै पार्टी नेतृत्वले आधिकारीक धारणा सार्वजानिक गर्ने वा हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने विषयमा मौन रहेका छन् ।

रूपा मैनाली र प्रकाश बमको रिपोर्ट 


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।