‘सामान्य विधेयकलाई रोक्दैनौं, दुईतिहाइ बहुमत आवश्यक पर्ने विषयहरूमा संवेदनशील हुनैपर्छ’

फाल्गुन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘सामान्य विधेयकलाई रोक्दैनौं, दुईतिहाइ बहुमत आवश्यक पर्ने विषयहरूमा संवेदनशील हुनैपर्छ’

काठमाडौं । राष्ट्रिय सभा सदस्य ललितजंग शाहीले प्रतिनिधि सभाबाट पारित भएर आएका विधेयक तथा ऐनहरूलाई राष्ट्रिय सभाले नरोक्ने बताउनुभएको छ ।

बुधबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टीका बहालवाला र नवनिर्वाचित सदस्यहरूसँग भएको परिचयात्मक कार्यक्रमपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्द उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले सामान्य विधेयक तथा ऐन निर्माणमा राष्ट्रिय सभाले प्रतिनिधि सभालाई सहयोग गर्ने बताउनु भयो । संविधान संशोधनको बारेमा भने राष्ट्रिय सभा संवेदनशील बन्ने उहाँको भनाइ छ । राष्ट्रिय सभाको भूमिका विधेयकहरूमा गम्भीर अध्ययन गरी आवश्यक सुधारसहित सुझाव दिने रहेको उहाँले स्पष्ट पार्नुभयो । 

उहाँकाअनुसार प्रतिनिधि सभाबाट आएका विधेयक, ऐन-कानुनलाई राष्ट्रिय सभाले अध्ययन गरी कमी-कमजोरी देखिएमा सुधारका लागि राय-सल्लाहसहित पुनः प्रतिनिधि सभामा पठाउने संवैधानिक जिम्मेवारी रहेको छ । प्रतिनिधि सभाले राष्ट्रिय सभाको सुझाव ग्रहण गरेर अघि बढ्यो भने राम्रो हुने उहाँले बताउनु भयो । 

यदि स्वीकार नगरे पनि त्यो प्रतिनिधि सभाको विशेष अधिकारको विषय भएको उहाँको भनाइ छ । तर दुई तिहाइ बहुमत आवश्यक पर्ने विषयहरूमा राष्ट्रिय सभाले संवेदनशील भएर आफ्नो भूमिका निर्वाह गर्ने उहाँले बताउनु भयो । उहाँले प्रतिनिधि सभा सदस्यको निर्वाचनले नेपाली जनता पुराना राजनीतिक दलहरूप्रति सन्तुष्ट नदेखिएको उल्लेख गर्नुभयो । 

नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति समेत रहनुभएका शाहीले कर्णाली प्रदेशमा भने नेपाली कांग्रेसले राम्रो नतिजा हासिल गरेको बताउनु भयो । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाइ सिट हासिल गरेर सरकार बनाउने तयारीमा छ । 

प्रतिनिधि सभामा बहुमत भएप नि राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको एक जना पनि सदस्य छैनन् । रास्वपाले संविधान संशोधनको मुद्दा उठाएको छ । प्रतिनिधि सभामा दुई तिहाइ पुर्‍याएर संविधान संशोधन गर्ने कोसिस रास्वपाले गरे पनि राष्ट्रिय सभाले त्यसलाई रोक्ने संकेत राष्ट्रिय सभा सदस्य शाहीले गर्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.