
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुभएकाे छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा-५ बाट उम्मेदवार रहनुभएका अध्यक्ष ओलीसँग कान्तिपुरले लिएको अन्तर्वार्तामा व्यक्त धारणा प्रति भट्टराईले आपत्ति जनाउनुभएकाे हाे । आइतबार प्रकाशित अन्तर्वार्तामा ओलीले सुरेन्द्र पाण्डे र योगेश भट्टराई यसपटक चुनाव जित्ने अवस्थामा नरहेको उल्लेख गर्दै बिन्दा पाण्डेको आधार कमजोर रहेको बताउनुभएकाे थियाे । साथै, गोकुल बाँस्कोटाले कार्यकर्ता पंक्तिमा विभाजन ल्याएको उहाँले संकेतसमेत गर्नुभएकाे थियाे ।
ओलीको उक्त अभिव्यक्तिपछि भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रतिक्रिया दिनुभएकाे छ । उहाँले फागुन २१ सम्म पार्टीका आन्तरिक विषय सार्वजनिक रूपमा छलफल गर्न नचाहेको उल्लेख गर्दै आफ्नो लक्ष्य सूर्य चिन्ह र नेकपा एमालेको जित रहेको बताउनुभएकाे छ । तर अध्यक्षको भनाइबाट आफू चिन्तित र दुःखी भएको उहाँले स्पष्ट पार्नुभएकाे छ । “कसैले पनि जितको ग्यारेन्टी गरेर लिखित कागज बुझाएर टिकट लिएको होला भन्ने मलाई विश्वास छैन,” उहाँले लेख्ननुभएकाे छ ।
यसअघि ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै आउनुभएका भट्टराईले यसपटक टिकट पाउनुभएकाे छैन । सो क्षेत्रमा एमालेले राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ । टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै भट्टराईले पार्टी कार्यालयमा ‘नोट अफ डिसेन्ट’ समेत दर्ता गराउनुभएकाे थियाे ।