
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित केही ठोस र ऐतिहासिक निर्णय गर्ने बताउनुभएको छ ।
पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उहाँले शुक्रबार बस्न लागेको बैठकले गर्ने निर्णयले देशभर नयाँ राजनीतिक तरङ्ग सिर्जना गर्ने दाबी गर्नुभयो । उहाँले बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने ऐतिहासिक निर्णय गर्न लागिएको जानकारी दिनुभयो ।
कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने तयारी गरेको छ । सोही प्रस्ताव पार्टीको केन्द्रीय समितिमा लैजाने र बैठकले निर्णय गर्ने महामन्त्री पौडेलले जानकारी दिनुभयो । महामन्त्री पौडेलले यसलाई लोकतान्त्रिक अभ्यासको विकासको नयाँ अध्याय भएको बताउनु भयो ।
कांग्रेसले नागरिकलाई देशको प्रधानमन्त्री को बनाउने भन्ने छनोट गर्ने अवसर विधिवत रूपमा प्रदान गर्न लागेको उहाँको दाबी छ । संसदीय निर्वाचनमा पार्टीका उम्मेदवारले प्रधानमन्त्री को बन्ने भन्ने स्पष्ट आधारसहित मत माग्ने व्यवस्था स्थापित गर्न कांग्रेसले यो अभ्यास सुरू गर्न लागेको उहाँको भनाइ छ ।
अब मतदाताले उम्मेदवार जितेपछि को प्रधानमन्त्री हुन्छ भन्नेकुरा पहिले नै थाहा पाउने उहाँले बताउनु भयो । नागरिकले प्रधानमन्त्री चयन प्रक्रियामा प्रत्यक्ष भूमिका खेल्न पाउने प्रणाली विकास गर्ने लक्ष्य कांग्रेसले लिएको उहाँले बताउनु भयो ।महामन्त्री पौडेलले बैठकले निर्वाचनमा कांग्रेसप्रति मत आकर्षित गर्न महत्वपूर्ण निर्णयहरू गर्ने पनि जानकारी दिनुभयो ।
कांग्रेसले विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व र नीति दुवै परिवर्तन गरेकोले अब देशको नेतृत्व पनि परिवर्तन गर्ने उहाँले दाबी गर्नुभयो । अब कांग्रेसले देशको नेतृत्व परिवर्तनका लागि नयाँ प्रस्ताव ल्याउन लागेको उहाँले जानकारी दिनुभयो । उहाँले सबै नेपालीको भावना प्रतिनिधित्व गर्नको लागि कांग्रेसले सभापति गगन थापालाई मधेसबाट उम्मेदवार बनाएको पनि बताउनु भयो ।