रूकुम पूर्व । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रूकुम पूर्व नेकपाका संयोजक पुष्पकमल दाहालको उम्मेदवारीले यसै पनि चर्चित छ ।
रूकुम पूर्वका सम्भावनाका अनि यहाँका जनताका माग र आवश्यकताहरू पूरा गर्न आसन्न निर्वाचनका उम्मेदवारहरूका के छन् वाचा र प्रतिबद्धता छन् त ?
अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरूले आ-आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रूकुम पूर्वमा यसपटकको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित ११ जना पार्टीगत र १ जना स्वतन्त्र गरी जम्मा १२ जनाको उम्मेदवारी परेको छ ।
अब चुनावी सरगर्मी दिनानुदिन बढ्दै जानेछ । ५७ हजार ९ सय ६० जनसंख्या रहेको रूकुम पूर्व संघीयतापछि २०७४ सालयता साविक रूकुमबाट छुट्टिएर बनेको जिल्ला हो । यसपल्टको निर्वाचनमा यहाँ जम्मा ३४ हजार ७ सय ७२ मतदाताले भाग लिनेछन् । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्लाका रूपमा रहेको यो भेग भूगोल र भाषा-संस्कृतिका दृष्टिले पनि एक विधितायुक्त भेग हो ।
जम्मा तीन वटा गाउँपालिका मात्रै रहेको रूकुम पूर्वका जनमनका माग र आवश्यकताहरूको परिपुर्ति गरी विकास र समृद्धिको मार्गमा जिल्लालाई लैजाने जिम्मेवारी यिनै उम्मेदवाहरूलाई छ । विगतमा केही नभएको हुँदै होइन । तर पनि यसले स्थानीय आवश्यकताहरूको पूरा सम्बोधन हुन सकेन ।
रूकुम पूर्वका सबै भेगमा अहिले पनि सडकको सहज पहँच छैन । विद्यालय शिक्षा प्रभावकारी हुन सकिरहेको छैन भने खानेपानी र स्वास्थ्यको सुविधामा पनि नागरिकहरू असन्तष्ट छन् । ढोरपाटन शिकार आरक्ष क्षेत्रभित्र समेत पर्ने रूकुम पूर्वमा निर्माणधीन शहीद मार्गलाई पूर्णता दिँदै ग्रामीण सडकको विकास तथा विस्तार, स्थानीय सीप, कला र उत्पादनको व्यावसायिक विकास गर्दै त्यसको बजारीकरण, स्वास्थ्य-उपचारको सहज उपलब्धताका साथै शैक्षिक क्षेत्रको उन्नयनका लागि प्रभावकारी योजना कार्यन्वयन गर्नुपर्ने अहिलेका ज्वलन्त आवश्यकता हुन् ।
यी र यस्तै विषयहरूको समाधान गरेर जाने प्रतिबद्धता मंगलबार मनोनयन दर्ता गराएका उम्मेदवारहरूले गरेका छन् । बोलीजस्तै व्यवहार बनोस् । सबै पूरा नहुन सक्छ तर सुरूवात अवश्य होस् । सुन्दर प्रकृतिमा अर्गानिक उत्पादन, मौलिक भाषा, कला र संस्कृतिको खानी रूकुम पूर्वलाई व्यवसायिक पर्यटनको हब बनाउन सकिने अथाह सम्भावना छ । यसका लागि पूर्वी रूकुमका नागरिक भिजन र क्षमता भएको नेता खोजिरहेका छन् ।