एनपीएल : आम्दानी चार गुणा, पारदर्शीतामाथि भने पदाधिकारीबाटै प्रश्न

चैत्र २४, २०८२ |खेल ब्युरो
एनपीएल : आम्दानी चार गुणा, पारदर्शीतामाथि भने पदाधिकारीबाटै प्रश्न

काठमाडौं । सोमबार सम्पन्न नेपाल क्रिकेट संघ-क्यानको बोर्ड बैठकले एनपीएलको दोस्रो संस्करणको आर्थिक विवरण सार्वजनिक गर्यो । 

पहिलो सिजनको तुलनामा आम्दानी वृद्धि हुँदा फ्रेन्चाइज क्लबहरू भने घाटामा छन् । अघिल्लो संस्करणमा जस्तै यसपटक पनि आय व्याय विवरणमा क्यानकै कार्यसमिति सदस्य असन्तुष्ट छन् । उपाध्यक्ष रोशन सिंहलगायतका पदाधिकारी बिनै सम्पन्न बोर्ड बैठकले यस पटक पनि आम्दानी र खर्चका सबै शीर्षक भने सार्वजनिक गरेको छैन ।

नेपाल क्रिकेट संघ- क्यानको सोमबार सम्पन्न कार्यसमिति बैठकले एनपीएल २०२५ को आर्थिक प्रतिवेदन अनुमोदन गर्यो । सार्वजनिक वित्तीय विवरण अनुसार दोस्रो संस्करणबाट क्यानले ९ करोड २१ लाख रूपैयाँ नाफा जोगाउन सफल भएको छ । दोस्रो सिजनमा क्यानले अनुमान गरेभन्दा बढी आम्दानी गरेको छ । 

सिजन सुरू हुनुअघि ४० देखि ४२ करोड आम्दानी हुने प्रक्षेपण गरिएकोमा वास्तविक आम्दानी ४७ करोड ३६ लाख रूपैयाँ पुगेको छ । तुलनात्मक रूपमा हेर्दा, क्यानको नाफामा झन्डै चार गुणाले वृद्धि भएको छ । पहिलो संस्करणमा क्यानले २ करोड ४६ लाख बचत गरेको थियो ।

क्यानले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, एनपिएलको दोस्रो सिजनमा प्रत्येक फ्रेन्चाइज क्लबले क्यानबाट औसतमा २ करोड २ लाख प्राप्त गरेका छन् । यो रकम क्यानले क्लबहरूलाई बाँडेको कुल १६ करोड १८ लाखको प्रतिक्लब हिस्सा हो ।

क्लबहरूले पाउने यो रकम अघिल्लो सिजनको तुलनामा झन्डै चार गुणाले बढी हो । पहिलो संस्करणमा क्यानले ४ करोड ३७ लाख रूपैयाँ आठवटा क्लबलाई बाँडेको थियो । जसअनुसार एक क्लबले औसतमा करिब ५४ लाख ६७ हजार रूपैयाँ प्राप्त गरेका थिए । 

तुलनात्मक रूपमा हेर्दा यसपटक क्लबहरूलाई दिएको रकममा २६९ दशमलव ९ प्रतिशतको वृद्धि भएको छ । यद्यपि, क्यानले आम्दानी र खर्चको विवरण अनुमोदन गरे पनि आर्थिक पारदर्शीताका विषयमा भने प्रश्न उठेका छन् । क्यानले आम्दानी र खर्चका शीर्षकहरू अझै स्पष्ट पारेको छैन । 

कार्यसमिति बैठकमा समेत केही सदस्यहरूले विवरणको थप समीक्षा हुनुपर्ने माग गरेका थिए । जसका कारण कतिपय प्रतिवेदन अनुमोदन हुन समय लागेको थियो । क्यानको मुख्य आम्दानीको स्रोत प्रायोजन, टिकट आम्दानी, ओटिटी राइट्स, र आन्तरिक टेलिभिजन प्रसारण अधिकार हुन सक्थ्यो । तर, सार्वजनिक गरिएको वित्तीय विवरण पारदर्शी नहुँदा क्यानले कुन शीर्षकमा कति रकम प्राप्त गर्यो भन्ने आधिकारीक तथ्यांक उपलब्ध छैन । 

क्यानको कोषबाट २ करोडभन्दा बढी प्राप्त गरे पनि एउटा क्लब सञ्चालन गर्न वार्षिक ८ देखि १० करोड रूपैयाँ खर्च हुने गरेको छ । खेलाडी खरिद, विदेशी खेलाडीको महागो पारिश्रमिक र व्यवस्थापनमा हुने ठूलो लगानीका कारण क्यान नाफामा रहँदा पनि क्लबहरू भने अझै करिब ४ करोड ३३ लाख रूपैयाँको वार्षिक घाटामा देखिन्छन् ।

लिगको आम्दानी बाँडफाँटको मोडेल अनुसार, क्यानले क्लबहरूलाई दिने रकममा पनि उल्लेख्य वृद्धि गरेको छ । अघिल्लो सिजन-२०२४ मा क्यानले ७ करोड ५३ लाख रूपैयाँ नाफाबाट ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख आठ वटा फ्रेन्चाइज टोलीलाई वितरण गरेको थियो । तर, दोस्रो सिजनमा यो रकम बढेर १६ करोड १८ लाख पुगेको छ । 

क्यानका अनुसार फ्रेन्चाइज लिगको सुरुवातमा यस्तो घाटा हुनु सामान्य मानिन्छ । लिगको व्यावसायिक मूल्य बढ्दै गएकाले आगामी चौथो वा पाँचौं वर्षसम्ममा क्लबहरू पनि नाफाको अवस्थामा पुग्ने आपेक्षा गरिएको छ । क्यानको नाफाले ग्रासरूट क्रिकेट विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ भने क्लबहरू पनि चाँडै आत्मनिर्भर बन्ने अपेक्षा छ । 

पहिलो संस्करणमा निकै ढिलो गरी सार्वजनिक गरिएको वित्तीय विवरण पारदर्शी नभएको भन्दै क्यान कानुनी झमेलामा परेको थियो । यसपटक पनि क्यानका उपाध्यक्ष्य रोशन सिंहलगायतको समूहले बोर्ड बैठक बहिस्कार गरे ।