
काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरूङले नेपाली कांग्रेसका सबै पक्ष एकताबद्ध भएर अघि बढने बताउनुभएको छ ।
आइतबार वरिष्ठ नेता डा. शेखर कोइराला पक्षले आयोजना गरेको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो दाबी गर्नुभएको हो । नेता गुरूङले भेलामा सहभागी भएका सबै नेता, कार्यकर्ताहरूले पनि कांग्रेसका सबै पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको समेत बताउनु भयो ।
उहाँले कांग्रेस एउटा घर भएको उल्लेख गर्दै परिवारका सदस्यहरूबीच झगडा हुने कुरालाई आफूले सामान्य रूपमा लिनुपर्ने बताउनु भयो । नेता गुरूङले शेखर कोइराला पनि पार्टी एकताको पक्षमा रहेको बताउनु भयो । नेता गुरूङले कांग्रेस भित्रको विषयमा तिललाई पहाड बनाएजस्तो नगर्न पनि सबैलाई आग्रह गर्नुभयो ।