ट्रम्पको योजनाविरुद्ध ग्रिनल्यान्डमा प्रदर्शन

माघ ४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
ट्रम्पको योजनाविरुद्ध ग्रिनल्यान्डमा प्रदर्शन

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जा गर्ने घोषणा गरेपछि ग्रिनल्यान्डबासीले राजधानी नुकमा भेला भएर ट्रम्पको योजनाको विरोध गरेका छन् ।

प्रदर्शनमा ग्रिनल्यान्डको कुल जनसंख्याको झन्डै एक चौथाई सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ग्रिनल्यान्डमा झन्डै ५६ हजार जनसंख्या बसोबास गर्छन् । यो प्रदर्शन ग्रिनल्यान्डको इतिहासकै ठूलो प्रदर्शन रहेको अधिकारीहरुले बताएका छन् । 

ग्रिनल्यान्डकी प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सेनसहित सांसद् तथा सरकारी अधिकारीहरू प्रदर्शनमा सहभागी थिए । प्रदर्शनकारीहरुले राष्ट्रिय झन्डासँगै ‘ग्रिनल्यान्ड बिक्रीमा छैन’ लेखिएको प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीले ग्रिनल्यान्डको राजधानी नुकस्थित अमेरिकी कन्सुलेटको कार्यालयसम्म नाराबाजी गरेका थिए ।

ग्रिनल्यान्डको पक्षमा शनिबारै डेनमार्कमा पनि प्रदर्शन भएको छ । कोपेनहेगनमा भएको यस प्रदर्शनमा पनि ठूलो संख्यामा मानिसहरु सहभागी थिए । एक्सन एड डेनमार्कसहित विभिन्न संस्थाहरुको सहकार्यमा आयोजित प्रदर्शनमा डेनमार्कस्थित ग्रिनल्यान्डवासीको ठूलो सहभागीता रह्यो । 

डेनिस अधिकारीहरुका अनुसार झन्डै १७ हजार ग्रिनल्यान्डवासी डेनमार्कमा बस्छन् । ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने निर्णयसँग अमेरिकी नै खुसी छैनन् । रोयटर्स र आईपीएसओएसले केही समयअघि गरेको सर्वेक्षणले केवल १७ प्रतिशत अमेरिकीमात्रै ग्रिनल्यान्ड गाभ्ने ट्रम्पको योजनामा सहमत रहेको देखाएको थियो । 

यसैबीच, ट्रम्पले आठवटा युरोपेली देशमाथि १० प्रतिशत भन्सार शुल्क बढाउने निर्णय गर्नुभएको छ । ग्रिनल्यान्डको स्वायत्तताको पक्षमा उभिएका देशहरू डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्डस् र फिनल्यान्डमाथि १ फेब्रुअरीदेखि लागु हुनेगरी १० प्रतिशत भन्सार शुल्क बढाइएको हो । 

ट्रम्पले यो शुल्क २५ प्रतिशतले बढ्नसक्ने चेतावनी पनि दिनुभएको छ । फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोँ, तथा बेलायतका प्रधानमन्त्री किइर स्टार्मरसहित आठवटै देशका सरकार प्रमुखले भन्सार शुल्क बढाउने अमेरिकी निर्णयको विरोध गरेका छन् ।