
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन आफ्ना पक्षका नेताहरूलाई निर्देशन दिनुभएको छ ।
आइतबार काठमाडौंमा आफूपक्षीय नेताहरूको भेलामा बोल्दै उहाँले पार्टीको विवादबारे सर्वोच्चमा मुद्दा गएको भए पनि निर्वाचनमा होमिन निर्देशन दिनुभएको हो । भेलामा सहभागी एक नेताले अदालतले जे आदेश दिए पनि मान्ने गरी अहिले आफ्नो जिल्ला क्षेत्रमा जान नेता कोइरालले भन्नुभएको बताउनु भयो ।
भेलामा नेता कोइरालाले अहिले निर्वाचन आयोगको निर्णय कार्यन्वयनमा गैसकेको हुँदा पार्टीले गर्ने उम्मेदवार चयनको प्रक्रिया र निर्वाचनमा पार्टीलाई जिताउने कार्यमा लाग्नुहुन सबैलाई अनुरोध गर्नुभएको पनि उहाँले जानकारी दिनुभयो । ‘मुलुकमा भएको संविधान संकट र पार्टीभित्र भएको जटिल परिस्थितिमा पार्टीका उम्मेदवारहरूलाई अग्रणी रूपमा रहेर सहयोग गर्न र निर्वाचित गराउन आग्रह गर्छु’ नेता कोइरालाले उद्धृत गर्दै ती नेताले बताउनु भयो ।
शुक्रबार नेपाली कांग्रेसको आधिकारिकताबारे आयोगले बहुमतबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेको थियो । त्यससँगै शेरबहादुर देउवा पक्ष विरोधमा छ । देउवा पक्षले सर्वोच्च अदालतमा आइतबार रिट दर्ता गराइसकेको छ ।
भेलामा नेता कोइरालाले निर्वाचनसँगसँगै आगामी १५औँ महाधिवेशनमा पनि ध्यान केन्द्रित गर्न सबैलाई आग्रह गर्नुभएको पनि ती नेताले जानकारी दिनुभयो । नेपाली कांग्रेसनेले नेपाली जनताको सार्वभौम अधिकार रक्षा गर्न सधैं निरन्तर लागिरहनु पर्ने भन्दै निर्वाचनमा ध्यान केन्द्रित गरेर आफ्नो भूगोल क्षेत्रमा जान आग्रह गर्नुभएको एक नेताले जानकारी दिनुभयो ।