झापा-१ बाट कांग्रेस उपसभापति शर्मा उम्मेदवार नबन्ने भएपछि नयाँ नाम सिफारिस

माघ ३, २०८२ |रासस
झापा-१ बाट कांग्रेस उपसभापति शर्मा उम्मेदवार नबन्ने भएपछि नयाँ नाम सिफारिस

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ नाम सिफारिस गरिएको छ ।

शनिबार बसेको कांग्रेस क्षेत्र नं १, क्षेत्रीय समितिको बैठकले पाँच जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिनुभयो । सिफारिस हुनेमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरू रहनुभएको छ । 

पार्टीका तत्कालीन महामन्त्री एवं वर्तमान उपसभापति शर्मा विसं २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो । गत महिना पार्टी क्षेत्रीय समितिले उपसभापति शर्माको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो । 

शर्माले यसपटक उम्मेदवार नबन्ने घोषणा गरेपछि पुनः नयाँ नाम सिफारिस गरिएको क्षेत्रीय सभापति बुढाथोकीले बताउनुभयो ।