
काठमाडौं । गाजाको ध्वस्त संरचना पुनर्निर्माण, दैनिक शासन सञ्चालन र अन्तर्राष्ट्रिय समन्वयका लागि अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले विभिन्न तीन वटा समिति गठन गर्नुभएको छ ।
ट्रम्पको अध्यक्षतामा शान्ति कमिटी, प्यालेस्टाइनका पूर्वमन्त्री अली साथको नेतृत्वमा राष्ट्रिय प्रशासन समिति र विश्वका प्रभावशाली व्यक्तिहरु संलग्न कार्यकारी अन्तर्राष्ट्रिय कमिटी गठन गरिएको हो ।
अली साथ नेतृत्वको गैरराजनीतिक सरकारले गाजामा दैनिक कामहरु हेर्नेछ । ६७ वर्षीय साथ प्यालेस्टाइनी प्राधिकरणका सहायक यातायातमन्त्री हुनुहुन्थ्यो । ध्वस्त सार्वजनिक संरचनाको पुननिर्माण र गाजामा दैनिक जीवनलाई स्थिर बनाउने काममा साथको समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ह्वाइटहाउसले व्यक्त गरेको छ ।
साथ नेतृत्वको अनुगमन अन्तर्राष्ट्रिय कमिटीले गर्नेछ । उक्त कमिटीमा टर्कीका विदेशमन्त्री हाकान फिदान, मध्यपूर्वका लागि अमेरिकी दूत स्टिफ विटकोफ, ट्रम्पका ज्वाँई जरेद कुस्नर,बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरलगायत छन् । त्यसैगरी ट्रम्प अध्यक्षतामा बनाइएको शान्ति कमिटीमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर, मध्यपूर्वका लागि अमेरिकी दूत स्टिफ विटकोफ, अमेरिकी सुरक्षा सल्लाहकार रोबर्ट ग्राबियललगायत सदस्य छन् ।
गाजाको सुरक्षाका लागि गठन गरिएको इन्टरनेशनल स्टेबलाइजेशन फोर्स-आईएसफको नेतृत्व मेजर जनरल जस्पर जफर्सले गर्ने पनि ह्वाइटहाउसले जनाएको छ । हमास र इजरायलका नेताहरुले कमिटी गठन गर्ने ट्रम्पको निर्णयको स्वागत गरेका छन् । हमासका वरिष्ठ नेता बसिम नैमले कमिटी गठन सही दिशातर्फको एउटा कदम रहेको बताउनुभएको छ ।
युद्धविराम कायम गर्न, युद्धमा फर्कनबाट रोक्न, विध्वंशकारी मानवीय संकटलाई सम्बोधन गर्न र बृहत्तर पुनर्निर्माणको तयारी गर्न यो महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।