महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध माईतीघरमा खबरदारी प्रदर्शन

माघ १, २०८२ |कान्तिपुर टीभी संवाददाता
महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध माईतीघरमा खबरदारी प्रदर्शन

काठमाडौै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयविरुद्ध काठमाडौंको माईतीघर मण्डलामा खबरदारी प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरूले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि लगाइएका संगठित अपराध र सम्पती शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘राजनीतिक संरक्षण’ र ‘न्यायको उपहास’ भएको भन्दै विरोध जनाएका हुन् । उनीहरूले प्लेकार्ड र नारा लगाउँदै सहकारी पीडितहरूलाई न्याय दिनुपर्ने माग गरेका छन् । 

महान्यायाधिवक्ता सविता भण्डारी बरालले मंगलवार विभिन्न जिल्ला अदालतहरू (कास्की, रुपन्देही, काठमाडौं र पर्सा) मा दायर अभियोगपत्र संशोधन गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग फिर्ता लिने स्वीकृति दिनुभएको थियो । यो निर्णयपछि लामिछानेमाथि सहकारी ठगीको अभियोग मात्र कायम रहने भएको छ । 

कार्यालयले यो कदम मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम भएको जनाएको छ । प्रदर्शनमा सहभागीहरूले यो निर्णयले सहकारी ठगीका पीडित वचतकर्ताहरूको हकहितलाई प्राथमिकतामा नराखेको र राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा कमजोर बनाइएको आरोप लगाएका छन् । 

यसअघि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोधका कारण गम्भीर अभियोग लगाइएको भन्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.