
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र दुई महामन्त्रीबीचको भेट सकिएको छ ।
देउवा निवासमा भएको भेटमा कुनै ठोस निर्णय भने भएन । यसअघि भएका वार्ताहरू निर्षकर्षविहीन भएपछि देउवाले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई आज बिहानै छलफलका लागि आफ्नो निवास महाराजगञ्जमा बोलाउनु भएको थियो । सभापतिसँगको भेटमा दुवै महामन्त्रीले सभापति देउवाको सक्रियताबारे चासो राखेका थिए । उहाँहरुबीच झन्डै ४५ मिनेट कुराकानी भएको बताइएको छ । सभापति देउवासँगको छलफलमा ठोस निर्णय नआएपछि महामन्त्रीद्वयले यस विषयमा विशेष महाधिवेशनको निर्वाचन समितिलाई जानकारी गराएका छन् ।
कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति देउवाले निवासमा कांग्रेसका अन्य नेताहरुको छलफल भने जारी छ । भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी रहँदा देउवाले अन्तिम निर्णय निकाल्नका लागि बैठक बोलाउनुभएको हो । अन्तिम निर्णय निकाल्ने भन्दै उहाँले बैठकमा महामन्त्रीद्वय थापा र शर्मालाई पनि बोलाउनु भएको हो ।
संस्थापन पक्षधरका बालकृष्ण खाँण र रमेश लेखक, शेखर पक्षका मिनेन्द्र रिजालसहितका नेताहरु अहिले पनि छलफलमा छन् । हिजो राति अवेरसम्म विभिन्न चरणमा भएका वार्ताहरु निष्कर्षविहीन भएपछि देउवाले बिहानै बैठक डाक्नु भएको हो ।