
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाका पूर्वअध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प नभएको बताउनुभएको छ ।
मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त बनाउने विचार र एजेन्डा बोकेर राप्रपा अघि बढिरहेको बताउनु भयो ।
अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र भएको उहाँकाे भनाइ छ । संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन नगरेसम्म देशलाई संकटबाट मुक्त तुल्याउन नसकिने उहाँले जिकिर गर्नुभयो । उहाँले सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र संघीयता होइन, केन्द्र र स्थानीय गरी दुई तहको शासन व्यवस्था रहने शासन प्रणाली कायम गरिनुपर्ने माग गर्नुभयो ।
पूर्वअध्यक्ष थापाले राप्रपाको नेतृत्वमा सरकार बन्नसक्ने गरी सरकार बन्नेगरी मतदान गरेर जिताउन आह्वान समेत गर्नुभयो । मुलुकको धरातलिय यथार्थलाई हृदयंगम गर्दै राप्रपाको नेतृत्वमा सरकार बन्नसक्ने बहुमत दिन उहाँले आग्रह गर्नुभयो । भ्रष्टाचार अन्त्य गरी सुशासनको माध्यमबाट सबल र समृद्ध नेपाल निर्माण गर्ने उहाँले जिकिर गर्नुभयो । राप्रपाले निर्वाचन जिते हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने उहाँकाे दाबी छ ।