
काठमाडौं । अफ्रिका कप अप नेसन्स-एफकनको पहिलो सेमिफाइनललाई लिएर अहिले दर्शकहरुमा रोमाञ्चकता बढ्दो छ ।
यो खेल प्रतियोगितामा सबैभन्दा प्रतिस्पर्धात्मक हुने अनुमानसमेत गरिएको छ। कारण हो-लिभरपुलका टिममेट मोहम्मद सालाह र साडियो माने एकै खेलमा भेट्दैछन् । सन् २०२२ को दबाबपूर्ण फाइनलमा प्रतिस्पार्धा गरेका यी २ टिम अहिले फाइनल प्रवेशको निर्णायक भिडन्तमा छन्, जहाँ मोहम्मद सालाह लामो फुटबल करिअरको अर्थपूर्ण क्षणमा आइपुगेका छन्।
केही वर्षअघि मोहम्मद सालाह र साडियो माने इंग्ल्यान्डको एकै टिमबाट इंग्लिस प्रिमियर लिग खेल्थे। ६ वर्षसँगै खेलेका उनीहरुमा आत्मियता, व्यावसायिक सम्मान र मैदानभित्र कठिन प्रतिद्वन्दिता थियो। जसले उनीहरुलाई परिपक्व बनाउँदै लग्यो । साढे २ सय खेल खेलेका साडियो मानेले एक सय ११ गोल गरेर सन् २०२२ मा क्लब छोडे।
सोही वर्ष उनको राष्ट्रिय टिम सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जित्यो। त्यो भन्दा रोमाञ्चक कुरा त फाइनलमा मोहम्मद सलाहको कप्तानीमा रहेको इजिप्टलाई पेनाल्टीमा पराजित गरेर मानेले आफ्नो टिमलाई च्याम्पियन बनाए। अहिले अवस्था फरक छ।
माने बार्यन म्युनिख हुँदै तीन वर्षदेखि साउदीको अल नासरमा क्रिस्टियानो रोनाल्डोसँग साउदी प्रो लिग खेलिरहेका छन्। यता सलाह लिभरपुलमा नै छन्। तर त्यहाँ उनको भविष्य अन्योलग्रस्त छ। यति हुँदाहुँदै पनि सालाह अहिले जारी एफकनमा जुन अन्दाजमा देखिएका छन्, त्यसले भन्छ उनी केही नयाँ कुराका लागि प्रतियोगितामा होमिएका हुन्। उनले प्रतियोगिताका चार खेलमा चार गोल गरिसकेका छन्। एफकनको इतिहासमा उनको गोल संख्या ११ पुगिसकेको छ।
सलाहका लागि यो एफकन धेरै कुराले निर्णायकसमेत छ। होसन हसनको प्रशिक्षणमा रहेका सलाहसँग अहिले प्रशिक्षककै सर्वकालीन सर्वाधिक गोलकर्ताको रेकर्ड खोस्ने अचम्मको संयोग जुरेको छ। इजिप्टका लागि हसनले सर्वाधिक ६८ गोल गरेका छन्, ३३ वर्षका सालाहको नाममा अहिलेसम्म ६७ गोल छ।
यदि फाइनलमा पुग्ने हो भने सलाहसँग नयाँ कीर्तिमान स्थापनाका लागि अझै दुई खेल हुनेछ। अहिले उनले हल्कापनसहित प्रतियोगिता खेलिरहेका छन्। हुनत् सन् २०१० यता उपाधि जित्न नसकेको इजिप्ट पछिल्लो डेढ दशकमा तीन पटक फाइनल पुगेर पराजित भएको छ । त्यसयता यो टिमसँग फाइनल पुगेको त प्रस्टै अनुभव छ, तर उपाधिको स्वाद चाख्न सकेको छैन्।
अहिले प्रिमियर लिग विजेता मिडफिल्डर सालाहलाई म्यानचेस्टर सिटीका ओमार मुस्मुसले अर्को विंगमा साथ दिइरहेका छन्। घरेलु र अरबका लिगमा राम्रो प्रदर्शन गरिरहेका खेलाडी सालाहको साथमा छन्। सन् २०२२ को फिफा विश्वकपमा अर्जेन्टिनाका खेलाडी मेस्सीलाई जसरी लिडर मानेर साथ दिएका थिए।
अहिले फेरो टोलीको ड्रेसिङ रुम पनि त्यस्तै देखिएको छ। सालाहले राष्ट्रिय टिममा रहँदा अहिलेसम्मकै सबैभन्दा राम्रो क्याम्प अनुभव गरेका छन्। अगादिरमा पछिल्लो खेल सकिएपछि सलाहको वरीपरि खेलाडी अंगालो बााधेर बसेका दृष्यले टिमको एकतालाई स्पष्ट पारेको छ। सालाहको टोलीको शक्ति नै एकता हो। त्यसमाथि आफ्नो देशको टिमका लागि धेरै जित्न नसकेका सालाहलाई समर्थकले पनि भरपुर विश्वास गरेका छन्।
उत युरोपका लिगमा समेत प्रभाव जमाउन सक्ने र क्षमतावान् खेलाडी सेनेगलसँग छन्। सेनेगलका कालिडोउ काउलीबेली, लिमन एडिए, एल डियोफ, डियारालगायत पहिलो रोजाइका सबै खेलाडी युरोपको शीर्ष डिभिजन खेल्ने खेलाडी हुन्। सेनेगल सेमिफाइनलमा आफ्नो विपक्षी पर्नु इजिप्टका लागि खुसीको विषयचाहिा होइन ।
त्यसैले सलाह अहिले जिवनको कठिन परीक्षामा छन्। तर उनी सफल हुन्छन् कि हुँदैनन भन्ने आगामी खेलले देखाउनेछ।