
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तोकिएको मितिमा नै निर्वाचन हुने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको सपथग्रहण समारोहमा बोल्दै उहाँले फागुन २१ मा निर्वाचन हुने उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।
सहसंयोजक नेपालले निर्वाचन समयमा हुँदैन कि भनेर चुप लागेर नबस्न पनि पार्टी, नेता कार्यकर्तालाई सचेत गराउनु भयो । उहाँले निर्वाचनका लागि पार्टीले घोषणा पत्र निर्माणको काम सुरू गरेको र निर्वाचन परिचालनका लागि पार्टीका संयोजक पुष्पकमल दाहालको नेतृत्व छिट्टै परिचालन कमिटी घोषणा हुने पनि बताउनु भयो ।
उहाँले निर्वाचन पार्टीका लागि अग्नीपरीक्षा भएकाले त्यसलाई पार लगाउनका लागि सिंगो पार्टी पंक्ति एकताबद्ध भएर परिचालन हुन जरूरी रहेको समेत बताउनु भयो । सहसंयोजक नेपालले निर्वाचनमा पैसाको लेनदेनलगायतका विकृतिको सामना गर्न पनि सचेत भएर अघि बढ्नुपर्ने अवस्था रहेको बताउनु भयो ।