
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै परम्परागत राजनीतिक संस्कारले मात्रै मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न नसकिने बताउनुभएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीमार्फत मात्रै वर्तमान राजनीतिक संकटको सामना गर्न सकिने उहाँको भनाइ छ ।
उहाँले सबै राजनीतिक दलहरूले विगतका कमजोरीबारे आत्मसमीक्षा गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले नेकपाले विगतमा आफ्नो तर्फबाट भएका कमजोरीको समीक्षा गरी अब ती कमजोरी सच्याउँदै रूपान्तरणको मार्गमा अघि बढ्ने संकल्प लिइसकेको पनि दाबी गर्नुभयो ।
उहाँले मुलुकले सामना गरिरहेको परिस्थितिमा राष्ट्रिय एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधिनतालाई मजबुत बनाउने उद्देश्यसहित पार्टी एकता प्रक्रियालाई अगाडि बढाइएको दोहोर्याउनुभयो । उहाँले मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्दै नेकपा सोहीअनुरूप अघि बढ्ने बताउनु भयो ।
उहाँले मुलुकमा उत्पन्न राजनीतिक तथा सामाजिक संकटको सामना गर्नकै लागि २० भन्दा बढी कम्युनिष्ट घटकहरूलाई एकठाउँमा ल्याइएको जिकिर गर्नुभयो ।