
काठमाडौं । विशेष महाधिवशेनका कारण मुलुककै पुरानो पार्टी नेपाली कांग्रेस गम्भीर मोडमा पुगेको छ । संस्थापन र विशेष महाधिवेशन पक्षबीच सहमति जुट्न नसक्दा पार्टी विभाजनको नजिक पुगेको विश्लेषण गरिएको छ ।
नेपाली कांग्रेसमा विशेष महाधिवेशन र संस्थापन पक्षधर नेताहरुले एकले अर्कालाई आफ्नो एजेण्डामा ल्याउन र पार्टी विभाजन हुनबाट रोक्न रातभर गरेका प्रयास असफल भएका छन् । महाधिवेशन पक्षधरले निर्वाचन प्रकृया नै अघि बढाएर थप दबाब दिएपनि सभापति शेरबहादुर देउवासहितको संस्थापन पक्ष सहमतिमा आएको छैन ।
रातभरका प्रयासमा दुबै पक्ष आफूले जित्ने गरी एजेण्डामा छलफल गरिरहे पनि कुनै सहमति जुट्न सकेन । विशेष महाधिवशेनमा निर्वाचन प्रकृया अहिले बिहानदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सवा ९ बजेसम्म छुटेकाहरुको उम्मेद्वार मनोनयन तोकिएको छ भने त्यसपछि उम्मेद्वारको दावीविरोध र फिर्ताको कार्यतालिका रहेको निर्वाचन कमिटि संयोजक सीताराम केसीले बताउनुभयो ।
यसैगरि दिउँसो १ बजेदेखि निर्वाचनको बाँकी प्रक्रिया अघि बढ्ने छ । यता आज बिहानसम्मलाई सारिएको केन्द्रीय समिति बैठक पनि पार्टी कार्यालय सानेपामा बस्दैछ ।
रातिसम्ममा सहमति बन्न सक्ने भएकोले केन्द्रीय कार्यसमिति बैठक आज बिहान बस्ने गरी बैठक स्थगित गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभएको छ ।