कांग्रेस संस्थापन पक्षका नेताहरूको निष्कर्ष : ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’

पुस २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस संस्थापन पक्षका नेताहरूको निष्कर्ष : ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’

काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरूको छलफलले काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशन पार्टी विधानविपरित रहेको निष्कर्ष निकालेको छ ।

सोमबार पार्टी सभपति शेरबहादुर देउवा निवासमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको नेताहरूले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सहमहामन्त्री महेन्द्र यादवले पार्टीभित्र देखिएको विवाद समाधानको सूत्र कार्यसम्पादन समितिको निर्णय नै भएको उल्लेख गर्दै पार्टी सोहीअनुसार अघि बढ्ने बताउनुभयो । उहाँले हाल गरिएका कुनै पनि भेला र कार्यक्रमको औचित्य कार्यसम्पादन समितिले नदेखेको उहाँको जिकिर छ ।

उहाँले भन्नुभयो, ‘अहिले पार्टीभित्र देखिएको विवादको समाधानको सूत्र कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय जुन छ त्यहीँ हो । केन्द्रीय कार्यसम्पादन समितिले अहिले गरिएका कुनै पनि भेला र कार्यक्रमको औचित्य देखेको छैन् ।’

नेता ज्ञानेन्द्र कार्कीले पार्टीभित्र देखिएको विवाद समाधान गर्न संस्थापन पक्षबाट सहमति, संवाद र एकताको ढोका सधैं खुला रहेको बताउनुभयो । उहाँले पार्टीलाई एकजुट बनाएर मुलुकलाई स्थिरता दिन र वर्तमान संकटबाट नागरिकलाई मुक्त गराउन कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी पूर्णरूपमा निर्वाचनमा केन्द्रित हुने र त्यसपछि मात्र पार्टी महाधिवेशन गर्ने निर्णयअनुसार नै पार्टी अघि बढ्ने उहाँको भनाइ छ ।

नेता श्यामकुमार घिमिरेले महामन्त्रीहरूले चालेका कदमले पार्टीभित्र सकारात्मक सन्देश दिन नसकेको बताउनुभयो । उहाँले पार्टीको जिम्मेवार पदमा बसेर महामन्त्रीद्वयले पार्टीलाई फुट र विभाजनतर्फ धकेल्नुहुन्न भन्ने कुरामा आश्वस्त रहेको बताउनुभयो । उहाँले अगामी वैशाखमा हुने पार्टीको नियमित महाधिवेशनमा प्रतिस्पर्धा गर्नका लागि तयारी गर्न समेत महामन्त्रीद्वयलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘महामन्त्रीहरूले जे गर्नुभयो यसले पार्टीभित्र राम्रो गरेन । तर मलाई अहिले पनि विश्वास के छ भन्दाखेरी उहाँहरू जिम्मेवार हुनुहुन्छ । महामन्त्रीको पदमा हुनुहुन्छ । पार्टीमा राम्रो छवि बनाएको लोकप्रिय नेता समेत भएको हुनाले उहाँले पार्टी फुटाउने काम गर्नुहुन्न भन्ने विश्वास छ । वैशाखमा महाधिवेशन हुँदैछ । महाधिवेशनमै चुनाव लड्दा भैहाल्छ त्यसको लागि उहाँहरूले तयारी गर्नुहोला । पार्टी फुटाउने काम उहाँहरूले गर्नुहुन्न भन्ने कुरामा म अहिलेसम्म आश्वस्त छु ।’

संस्थापनको विरोधकाबीच पार्टी महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विषेश महाधिवेशन जारी छ । उक्त महाधिवेशनले पार्टीको नीति र नेतृत्व बदल्ने बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.