पार्टी विभाजन हुन नदिन कांग्रेस नेता भण्डारीसहितको दबाब अभियान सुरू

पुस २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
पार्टी विभाजन हुन नदिन कांग्रेस नेता भण्डारीसहितको दबाब अभियान सुरू

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीलगायतका नेताहर"ले पार्टी एकताको पक्षमा वकालत गर्नुभएको छ ।

पार्टी निर्णय विपरित महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन आह्वान गरेपछि विभाजनको डिलमा पुगेको कांगेसलाई फुटबाट जोगाउने उद्देश्यका साथ शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता भण्डारीलगायतका नेताहरूले पार्टी एकताको पक्षमा केन्द्रित हुन संस्थापन र इतर पक्ष दुबैलाई दबाब दिनुभएको हो । 

कांग्रेसलाई मुलुकको नेतृत्व गर्ने शक्ति बनाउने गरी फुट हुन नदिनका लागि आफूहरू लागि परेको नेता भण्डारीले बताउनु भयो । उहाँले आइतबारबाट सुरू हुने विशेष महाधिवेशनलाई नीति महाधिवेशनको रूपमा लिएर पार्टी सभापति शेरबहादुर देउवालाई पनि सहभागी हुन आग्रह गर्नुभयो । नेताहरूलाई एकताबद्ध हुनका लागि आग्रह गर्न आफूहरू लागि परेको उहाँकाे भनाइ छ ।

नेता भण्डारीले भन्नुभयो, ‘अहिले हामी पार्टी मिलाउने पक्षमा छौँ । हामी पार्टीलाई फुट्न नदिने कित्तामा छौँ । विशेष महाधिवेशनमा पार्टी सभापतिसहितका नेताहरू सहभागी हुनुपर्छ । मुलुकलाई संकटबाट जोगाउन पनि कांग्रेसलाई फुटबाट जोगाउनु पर्छ ।’

कांग्रेस नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनमा पार्टी सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहर" पनि सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सभापति देउवालाई सम्मानजनकरूपमा बिदाइ गर्न आफूहरूले चाहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशनमा संस्थापन पक्षका नेताहरू पनि सहभागी हुनुहुनेछ । पार्टी सभापति देउवाको सम्मानजनक बिदाइको पक्षमा छौँ । पार्टी एकताको पक्षमा हामी छौँ ।’ नेता शर्माले डा. शेखर कोइराला पनि पार्टी एकताको पक्षमा रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.