कांग्रेस विशेष महाधिवेशनमा देउवा आफैं सहभागी हुनुपर्छ : चन्द्र भण्डारी

पुस २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस विशेष महाधिवेशनमा देउवा आफैं सहभागी हुनुपर्छ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा आफैं सहभागी हुनुपर्ने बताउनुभएको छ ।

शुक्रबार विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा मञ्च व्यवस्थापनको काममा पुग्नुभएका उहाँले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कांग्रेस देउवाको पार्टी भएको भन्दै सो महाधिवेशनमा उहाँ सहभागी हुनुपर्ने बताउनुभएको हो । नेता भण्डारीले पुस २७ र २८ गते हुने महाधिवेशनमा सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने भएकाले सबै नेताहरू त्यसमा सहभागी हुने विश्वास समेत व्यक्त गर्नुभयो । 

उहाँले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माप्रति संकेत गर्दै कांग्रेसको वर्तमान र भविष्य सोही महाधिवेशनले फैसला गर्ने समेत बताउनु भयो । उहाँले भन्नुभयो,‘७७ वटै जिल्लाका साथीहरू हामीसँग छन् । सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू हाम्रा हुन् । नेपाली कांग्रेसका हुन् । जो वर्तमान र भविष्यका पनि हुन् । त्यसो हुनाले नेताहरूलाई पनि हामीले मिलाएर लिएर जान्छौँ । विशेष महाधिवेशनमा सभापति पनि आउनुपर्छ, यो उहाँको पार्टी हो यो ।’

कांग्रेस नेता भण्डारीले महामन्त्रीद्वय थापा र शर्माले पार्टीलाई मिलाएर लैजान बढी जिम्मेवार हुनुपर्ने समेत बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.