
काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद वार-पारको स्थितिमा पुगेको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशनको आह्वान गर्नुभएको छ । तर संस्थापन पक्षले उक्त महाधिवेशनमा नआउन आग्रह गरेको छ । महामन्त्रीसहितको विशेष महाधिवेशन पक्षले पार्टी विधान अनुसारको प्रकृया भन्दै महाधिवेशनको नारासमेत तय गरेको छ । तर संस्थापन पक्ष विधानमै भएको बाध्यकारी व्यवस्था मान्न तयार छैन् । उता विशेष महाधिवेशनको वकालत गर्दै आएका महामन्त्रीहरू पार्टी बहुमतको निर्णय मान्न तयार छैनन् ।
पार्टीभित्रका कतिपयले यो विवादले पार्टी विभाजन नहुने दाबी गरिरहेका छन् तर विवाद यस्तो उत्कर्षमा पुगेको छ कि अब एकता जोगिँदैन कि भन्ने शंका पार्टीमा हाबी हुन थालेको छ। नेपालीका कांग्रेसका नियमित महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधर दुबैले पार्टी नफुट्ने दाबी गरिरहेका छन् । तर महाधिवेशन विवाद यति धेरै तातिएको छ कि अब पार्टीको एकता जोगाउनै मुस्किल पर्दै गएको छ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग माग गरेका थिए । कांग्रेस विधानको धारा १७ अनुसार केन्द्रीय समितिले चाहे वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ । तर कांग्रेस नेतृत्व विधान मान्न तयार छैन् । बरू बहुमतको बलमा वैशाखमै महाधिवेशनको कार्यतालिका पारित गरेर विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाइरहेको छ।
आफैँलाई चयन गर्ने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर प्रमाणित गर्ने वा वार्ता र संवादबाट समाधान गर्ने कुनै प्रयत्न नेतृत्वले गरेको छैन् । विशेष महाधिवेशन पक्षधरहरूले निरन्तर पत्रकार सम्मेलनमार्फत दबाब दिँदै आएका छन्, यहि सातामात्रै यो पक्षका नेता कार्यकर्ताले ३ पटक पत्रकार सम्मेलन गरेका छन् । विधानमा भएको व्यवस्था मानेर आफ्नो माग सम्बोधन गर्नुपर्ने माग उनीहरूको छ ।
यो पक्षले विशेष महाधिवेशनका लागि प्रतिनिधिलाई काठमाडौं बोलाइसकेको छ । भृकुटीमण्डपमा महाधिवेशनका लागि विभिन्न १८ उपसमिति बनाएर काम अघि बढाउनुका साथै होटल बुक गर्नेदेखि अरू प्राविधिक तयारी चालु छ। जसको अपनत्व महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले लिइरहेका छन् ।
नेपाली कांग्रेसमा यतिखेर दुईवटा महाधिवेशनको कार्यतालिका सार्वजनिक भएका छन् । केन्द्रीय कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ सम्म नियमित महाधिवेशन गर्ने भनेको छ भने महामन्त्रीहरूले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने भनेका छन् ।
दुबै पक्ष समाधानको साटो मुठभेडको अवस्थामा छन्, संस्थापन पेलेरै जान खोज्दैछ, महामन्त्री समूह दबाब सिर्जना गर्न खोजिरहेका छन्। तर टसको मसमा दुबै छैनन्। नेताहरुले संकल्प सम्मेलन वा नीति महाधिवेशनका रूपमा रूपान्तरण गर्ने विषयमा छलफल भए पनि सभापति देउवा र कार्यवाहक सभापति पुर्णबहादुर खड्काले चासो दिएको देखिँदैन ।
अन्य दल चुनावी अभियानमा जुट्दा कांग्रेसभित्रको यो किचलो भने दिन प्रतिदिन चर्किँदै छ । राष्ट्रिय सभामा नेकपा एमालेदेखि मधेशकेन्द्रित सबै दलसँग सहकार्य गरेर जान तयार हुने कांग्रेस आन्तरिक एकतामा भने चुकेको छ । जसले फागुन २१ को चुनावको तयारीसमेत प्रभावित हुने त निश्चित छ नै, पार्टीकै एकतासमेत संकटमा पर्दै गएको छ ।