काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहबीच एकताको एक साता पनि भएको छैन ।
तर पार्टीभित्र कुलमान पक्षका असन्तुष्टिहरु बाहिरिन थालेका छन् । एकतापछि एजेन्डामा छलफल गरी सहमति गरिने भनिए पनि रास्वपाको स्पष्ट धारणा नरहेको भन्दै कुलमान पक्षले एकताबाट बाहिरिनेसम्मको चेतावनी दिन थालेको छ । बालेन्द्र शाहसहितको रास्वपासँग कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबीच एकता घोषणा भएको एक साता पुगेको छ। तर एक साताबीचमै असन्तुष्टिका स्वरहरू सुनिन थालेका छन् ।
एकता गर्दा एजेन्डाबारे पछि छलफल गर्ने सहमति भएको थियो। तर रास्वपाको शीर्ष नेतृत्व अझै एजेन्डामा प्रवेश गर्न नचाहेको कुलमान पक्षको आरोप छ। खासगरी कुलमान पक्षले रास्वपा नेतृत्वसँग तीन वटा विषयमा स्पष्टता खोजिरहेको छ । पहिलो हो पहिचानको मुद्दा ।
कुलमान पक्षले अहिलेको संविधानमा समावेशी व्यवस्था जस्तो छ त्यही नै हुनुपर्ने भनेको छ । पहिचानवादी आन्दोलनलाई संस्थागत गरेर जानुपर्ने र संविधानविपरीत नजान कुलमान पक्षका नेता-कार्यकर्ताको दबाब छ । रास्वपासँग कुलमान पक्ष स्पष्ट हुन चाहेको अर्को विषय हो धर्म निरपेक्षता । कुलमान पक्ष अहिलेकै व्यवस्था मान्नुपर्ने पक्षमा रहँदा रास्वपा र बालेन्द्र शाह भने जनमत संग्रह हुनुपर्ने अडानमा छन् । यसमा पनि फरक मत आएपछि कुलमान पक्ष रुष्ट छ ।
नमिलेको अर्को विषय हो - संघीयता । कुलमान समूहले संघीयताको पक्षमा बलियो आवाज उठाइरहेको छ । तर रास्वपा र बालेन्द्र शाह पक्ष संघीयताको विषयमा खुलेका छैनन् । उनीहरुले प्रदेशमा राजनीतिक गतिविधि पनि बढाएका छैनन् । रास्वपाले त यसअघिको प्रदेशसभा निर्वाचनमा भाग नै लिएन ।
बालेन्द्र शाह राष्ट्रपति निर्वाचनमा मतदाता भए पनि उहाँ मतदानमै सहभागी हुनु भएन । यस्ता अस्पष्टताका कारण कुलमान पक्ष झस्किएको हो । रास्वपाको स्पष्ट धारणा नआए र फरक मत कायमै रहे एकताबाट बाहिरिने कुलमान पक्षको चेतावनी छ ।यसबाहेक समानुपातिकको सूचीमा कम हिस्सा पाएको र हिस्सा पाए पनि संसद्मा छनोट नहुने गरी अन्तिमतिर राखिएकोमा पनि कुलमान पक्षको तीव्र असन्तुष्टि छ ।
त्यही भएर कुलमान पक्षले धरौटी रकम बुझाएकाले आयोगमा छुट्टै सूची बुझाउन मिल्ने-नमिल्ने र नाम तल-माथि गर्ने विषयमा छलफल पनि गरेको थियो । पार्टीभित्र आफ्ना पक्षका नेता कार्यकर्तालाई समायोजन अर्थात् व्यवस्थापन गर्न पनि उज्यालो नेपालका नेता कार्यकर्ताको कुलमानलाई दबाब छ।
त्यही भएर शनिबार तीन शक्तिबीच छलफलसमेत भएको थियो । आफ्ना एजेन्डामा सकारात्मक नभए एकताबाट बाहिरिहाल्नुपर्ने कुलमान पक्षका नेताहरुको दबाब छ । एकताका नाममा नेतृत्वले गरेको निर्णयमा स्पष्ट नहुँदा समस्या भएको उनीहरुले बताइरहेका छन् ।
एकताअघि नै उज्यालो नेपाल र रास्वपाबीच नेतृत्व र बाँडफाँटमा कुरा नमिल्दा एकतामा ढिलाइ भएको थियो । त्यसो त आइतबार रास्वपाको केन्द्रीय समिति बैठकले उज्यालो नेपाल र बालेन्द्र शाह पक्षका नेताहरूलाई पनि पद बाँडफाँटमा सहजताका लागि विधानमै केहि पदाधिकारी थप गर्ने निर्णय गरेको छ।
पद मिलानका लागि उपसभापति, महामन्त्री. सहमहामन्त्री र सहप्रवक्ता थप गर्ने निर्णय भएको छ। एकतापछि पदीय विभाजन र बाँडफाँडको विषयलाई रास्वपाले अघि बढाए पनि एकतापछि छलफल गर्ने भनिएको एजेन्डाका विषयमा भने फरक मतका कारण असन्तुष्टि चुलिएको हो ।
वैकल्पिक शक्तिहरु एक हुनुपर्ने आवाजसहित रास्वपा, कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहबीच गत सोमबार एकताको सहमति भएको थियो। यी शक्ति एक भएपछि आसन्न निर्वाचनमा पूराना दललाई चुनौती हुने आंकलनमात्रै होइन, निर्वाचनको माहोल नै एकाएक तातेजस्तो देखियो । तर एकताको एक साता नबित्दै पार्टीभित्र असन्तुष्टिका स्वर बाहिरिँदा तीनवटै पक्षका नेताहरू जवाफ दिनुपर्दा हैरान भएका छन्।