
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको बताउनुभएको छ । ओलीको स्ट्याटसमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले कमेन्ट गर्दै आफु डिबेटमा नबस्ने प्रष्ट पार्नु भएको छ ।
ओली र शाह झापा ५ बाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेले ओलीलाई र रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ भने कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ ।
पछिल्लो केही दिनदेखि प्रधानमन्त्रीका तीन उम्मेदवारबीच सार्वजनिक चुनावी बहसको चर्चा भइरहेको छ ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नयाँ र पुराना सबै दल चुनावमा होमिएका बेला देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा एमाले देश बनाउनेतर्फबाट मैदानमा छ।’
उहाँले सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको र फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्ने बताउनुभएको छ ।
‘यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दल पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्, देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक छ ।’ ओलीले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।
ओलीले भन्नुभएको छ ‘यस्तो पब्लिक डिबेटमा आमनेसामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु ।’
ओलीको स्ट्याटसमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले कमेन्ट गर्दै आफु डिबेटमा नबस्ने प्रष्ट पार्नु भएको छ । उहाँले लेख्नु भएको छ, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।‘
बालेन्द्र शाहले ओलीलाई लक्षित गर्दै कमेन्टमा लेख्नुभएको छ, ‘आफुलाई देश जलाउनेको रुपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरुको घर कता कता छन् तपाईहरुलाई नै थाहा थियो । तपाइहरुले आफै २३ गते बच्चाहरु मारेको आंतकवाद लुकाउन २४ गते जलाएको हो । आफुलाई आंतकवादी चाँही कहिले स्वीकार्ने हो ?’