राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै

१७ सिटका लागि आज मतदान, एक जना निर्विरोध, ४३ जना प्रतिस्पर्धामा, नतिजा आजै आउने
माघ ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज निर्वाचन हुँदैछ । आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो ।

 त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने तय भएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

कांग्रेस, एमाले र जसपा नेपालले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर सिट बाँटफाट समेत गरिसकेको छ । तीन दलवीचको सहमति अनुसार कांग्रेसलाई ९ एमालेलाई ८ र जसपा नेपाले १ सिट भागबण्डा गरेको छ । नेपाली कम्युनिष्ट पार्टी र जनमोर्चा एक्लै चुनावी मैदानमा उत्रिएका छन् । प्रदेशसभा सदस्यको मतभार ५३ रहेको छ भने पालिका पालिका तथा गाउँपालिका प्रमुख उप्रमुखको मतभार १९ रहेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.