काठमाडौं । विशेष महाधिवेशनको विवादले संकट गहिरिँदै गएपछि नेपाली कांग्रेसका नेताहरू सहमतिका उपाय खोजी गर्न थालेका छन् ।
आगामी वैशाखमा नियमित महाधिवेशन गर्न सहमति जनाएको शेखर कोइराला समूह सकेसम्म गगन थापा र विश्वप्रकाश शर्मालाई मनाउने प्रयासमा छ भने विशेष महाधिवेशन पक्षधरहरू जसरी पनि विशेष महाधिवेशन तर्फ अगाडि बढेका छन् । कांग्रेसको यो कलहले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीको आन्तरिक तयारी नै प्रभावित हुने देखिएको छ।
नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले शनिबार बिहानै सामाजिक सञ्जालमा विशेष महाधिवेशन माग गर्नेहरुलाई बेवास्ता र चरम दुर्व्यवहार गरेको भन्दै आक्रोश पोख्नु भयो । आफ्नो माग सम्बोधन नगरी जबर्जस्ती अगाडि बढ्न खोज्दा राजनीतिक दुर्घटना उत्पन्न भए त्यसको जिम्मेवार नेतृत्व नै हुने चेतावनीसमेत उहाँले दिनुभयो ।
यो पक्षले २७ गते विशेष महाधिवेशन बोलाएको छ । तर त्यसबारेमा कुनै छलफल नै नगरी शुक्रबारको केन्द्रीय कार्यसम्पादन बैठकले बहुमतको बलमा आगामी वैशाखमा महाधिवेशन गर्ने कार्यतालिका पारित गर्यो । आफ्ना मागबारे छलफलसमेत नगरी संस्थापन पक्ष बहुमतले पेलेर अगाडि बढेपछि विशेष महाधिवेशन पक्षधर झन् आक्रामक बनेको छ ।
कार्यसम्पादन बैठकमा महामन्त्री गगन थापा लगायतका नेताहरुले फरक मत राखे । थापा पक्ष अब विधानबमोजिम जसरी पनि विशेष महाधिवेशन गर्न अगाडि बढेको छ । सुरुदेखि नै फागुन २१ को निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको संस्थापन पक्ष आफू अनुकूल निर्णय गर्न सफल भएको छ ।
नेतृत्व परिवर्तन गरेर मात्रै चुनावमा जानुपर्ने पक्षमा रहेको शेखर कोइराला पक्षसमेत चुनावपछि महाधिवेशन गर्न सहमत भएको छ । महाधिवेशन विवाद झन् गहिरिँदै जाँदा पार्टी विभाजन हुने चिन्ताले नेताहरुलाई पिरोल्न थालेको छ । शेखर कोइरालाले विवाद समाधानको उपाय खोज्न शनिबार गरेको आफूपक्षीय नेताहरूको छलफलमा पनि नेताहरु पार्टीमा फूटको स्थिति आउन नदिन केन्द्रित भए ।
नेपाली कांग्रेसमा यतिखेर दुई वटा महाधिवेशनको कार्यतालिका सार्वजनिक भएका छन् । केन्द्रीय कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ सम्म नियमित महाधिवेशन गर्ने भनेको छ भने महामन्त्रीहरुले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने भनेका छन्, जसले तल्लो तहका नेता- कार्यकर्तामा अन्योल छाएको छ ।
दुबै पक्ष संयमित भएर समाधान नखोजे कांग्रेसलाई नोक्सानी हुन सक्ने विश्लेषकहरुको भनाइ छ । कांग्रेसभित्रको यो विवादले चुनावको आन्तरिक तयारी पनि प्रभावित हुने देखिएको छ । अन्य दलको चुनावी अभियान सुरु भइसक्दा कांग्रेसभित्रको यो किचलो अझै केही दिन जारी रहने निश्चित छ । अब दुबै पक्ष सहमतिको बिन्दूमा नपुग्ने हो भने त्यसको मूल्य कांग्रेसले यसै चुनावमा चुकाउनुपर्ने हुन सक्छ ।