
काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले मुलुकमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने वातावरण बन्न नसकेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भगाइएका कैदी, लुटिएका हतियार र सुरक्षाकर्मीहरूको कमजोर मनोबलका कारण मुलुकमा भयरहित वातावरणमा कसरी निर्वाचन हुन्छ ? भन्ने यक्ष प्रश्न यथावत् रहेको बताउनुभएको हो । नेता ज्ञवालीले फागुन २१ का लागि निर्वाचनको मिति घोषणा गरिए पनि विघटित प्रतिनिधि सभाका बहुमत सांसदहरूले विघटनविरूद्ध उठाएका प्रश्नको संवैधानिक तथा न्यायिक परीक्षण हुन पनि बाँकि रहेको अवस्था आएकाले निर्वाचन हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको जिकीर समेत गर्नुभयो ।
उहाँले भन्नुभयो,‘फागुन २१ का लागि निर्वाचनको मिति घोषणा गरिएको छ । र, एकातिर प्रतिनिधि सभाका बहुसंख्यक सदस्यहरूले प्रतिनिधि सभा विघटनाका विरूद्ध उठाएका गम्भीर प्रश्नको संवैधानिक र न्यायिक परीक्षण हुन बाँकि नै छ । अर्कोतिर भगाइएका हजारौ कैदी, लुटिएका सयौं आधुनिक हतियार र सुरक्षाकर्मीहरूको कमजोर मनोबलका कारण सिर्जित सुरक्षा चुनौतीका बीचमा भयरहित निर्वाचन कसरी सम्भव हुन्छ ? भन्ने यक्ष प्रश्न यथावत् नै छ ।’
एमाले नेता ज्ञवालीले पपुलिजमको आधारमा मुलुकलाई अघि बढाउन नसकिने पनि स्पष्ट पार्नुभयो ।