
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको टिप्पणी गर्नुभएको छ ।
मंगलबार मोरङ समाज काठमाडौंको २६औँ वार्षिक साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले मुलुकमा निर्वाचन हुने अवस्था बने-नबनेको विषय गम्भीर प्रश्नको रूपमा उभिएको बताउनुभएको हो । सबै राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति-सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन ? अहम् प्रश्न रहेको उहाँको भनाइ छ ।
उहाँले नेपाली कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै उहाँले सरकारले त्यसको लागि वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचनमा शान्ति-सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको भएको उल्लेख गर्दै हाल प्रहरीको मनोबल अत्यन्त खस्किएको बताउनु भयो ।
सेनाले निर्वाचन गराउँदैन भन्नेकुरा सबैले बुझ्न जरूरी रहेको पनि उहाँको भनाइ छ । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको स्मरण गराउँदै गम्भीर अपराधका कैदीहरू फरार र हजारौँ हातहतियार समेत समाजमा रहेको भन्दै यही अवस्थामा भयरहित वातावरणमा निर्वाचन हुनेमा उहाँले शंका व्यक्त गर्नुभयो ।
नेता कोइरालाले २३ भदौमा भएको जेन-जी आन्दोलनमाथि प्रहरी दमनको जति निन्दा गरे पनि कम हुने बताउनु भयो । यद्यपि २४ भदौमा भएको विध्वंशलाई सामान्य रूपमा हेर्न नहुने उहाँको भनाइ छ । उहाँले मुख्य प्रशासनिक भवन सिंहदरबारदेखि प्रादेशिक तहका संरचना र नेताका निवासहरू समेत तहसनहस पारिएको उल्लेख गर्दै उहाँले जेन-जीले मात्रै ६ घन्टामा मुलुकलाई खरानी बनाउन नसक्ने टिप्पणी गर्नुभयो ।
यो सब कांग्रेस-एमालेको सरकार हटाउनको लागि मात्र हो त ? उहाँको प्रश्न छ । उहाँले संसद\ पुनःस्थापना गरेर समेत अहिले समस्याहर"को निकाश निस्कन नसक्ने जिकिर गर्नुभयो ।