
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने जेन-जीको मागलाई सरकारले बेवास्ता गरेको बताउनुभएको छ ।
जनकपुरधाममा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले पहिला संविधान संशोधन र त्यसपछि मात्रै निर्वाचन गर्नुपर्ने युवाहरूको माग रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले युवाहरूसँग केही दिनअघि मात्रै सम्झौता गरेको तर कुनै पनि कुराहरू अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले आन्दोलनकारी युवाहरूलाई सरकारले धोका दिएको बताउनु भयो । लोकतन्त्रमा निर्वाचन महत्वपूर्ण रहेको बताउनुहुँदै आफूहरू निर्वाचनमा जान तयार रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘चुनाव भन्दा पहिला संविधान संशोधन हुुनुपर्छ । जे माग युवा पुस्ताले राखेका छन्, युवा पुस्तासँग सरकारले संविधान संशोधन लगायतका विषयमा सम्झौता गरेको छ । त्यो अलिकति पनि अघि बढेको छैन । आन्दोलनकारी युवाहरूलाई धोका भएको छ । युवाहरूलाई मजाक बनाइएको छ । तर पनि लोकतन्त्रमा निर्वाचन महत्पूर्ण हुन्छ । चुनाव लड्न तयार छौँ । हामी जनताको अधिकारका लागि लड्न तयार छौँ ।’
अध्यक्ष यादवले जनता समाजवादी पार्टी, नेपाल निर्वाचनमा जाने बताउनु भयो । मधेसका जनतालाई अधिकार सम्पन्न बनाउन र शिक्षा, स्वास्थ्यको ग्यारेन्टीका साथ निर्वाचन लड्न लागेको बताउनु भयो ।