इजरायली प्रधानमन्त्रीसँगकाे भेटपछि हमासले हतियार नछाडे मूल्य चुकाउनु पर्ने ट्रम्पको भनाइ

शान्ति योजनालाई शतप्रतिशत पालना गरिरहेको भन्दै इजरायलको प्रशंसा, गाजामा पुननिर्माण चाडैं सुरु हुने दाबी
पुस १५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायली प्रधानमन्त्रीसँगकाे भेटपछि हमासले हतियार नछाडे मूल्य चुकाउनु पर्ने ट्रम्पको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इजरायल-प्यालेस्टिनी शान्ति प्रक्रियाको दोस्रो चरण लागु गर्न हमासले तत्कालै आफूलाई निशस्त्रीकरण गर्नुपर्ने बताउनुभएको छ । 

हमासले हतियार नछाडे उसको हालत निकै खराब हुने ट्रम्पको चेतावनी छ । राष्ट्रपति ट्रम्पले फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेटेपछि हमासले हतियार नछाडे नर्कको मूल्य चुकाउनु पर्ने बताउनुभएको हो । उहाँले गाजामा पुनर्निर्माण चाँडै नै सुरू हुने पनि बताउनुभयो ।

शान्ति योजनालाई झन्डै शतप्रतिशत पालना गरिरहेको भन्दै ट्रम्पले इजरायलको प्रशंसा पनि गर्नुभयो । जबकी, इजरायलले शान्ति योजनाविपरीत गाजामा निरन्तर आक्रमण जारी राखेको छ । गत अक्टुबरमा गाजा शान्ति योजना लागु भएको थियो । यस २० बुँदे योजनाको गाजा क्षेत्रमा एक प्राविधिक सरकार स्थापना हुने, हमासले निशस्त्रीकरण गर्ने र इजरायली सेना यस क्षेत्रबाट फिर्ता हुने उल्लेख छ । यी प्रक्रिया पूरा भएपछि मात्रै गाजाको पुनर्निर्माण सुरू हुनेछ।

इजरायली प्रधानमन्त्री नेतान्याहूले इजरायली सेना फिर्ता हुनुभन्दा पहिले नै हमासलाई निशस्त्रीकरणका लागि दबाब दिइरहनु भएको छ । यता, हमासका अधिकारीहरूले स्वतन्त्र प्यालेस्टिनी राज्य र पूर्ण निशस्त्रीकरण एकसाथ हुनुपर्ने बताइरहेका छन् ।