
काठमाडौं । भदौ २३ र २४ को जेन-जी आन्दोलनका क्रममा क्षति भएका बाँकेका ३५ वटा सरकारी कार्यालय मर्मत-सम्भार गरी सेवा सञ्चालनमा ल्याइएको छ।
जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार, क्षतिग्रस्तमध्ये २१ वटा कार्यालय पूर्णरूपमा, ६ वटा आंशिक तथा ८ वटा सामान्य क्षतिग्रस्त भएका थिए । पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय बाँकेको भवनमा अब पूर्ववत् अवस्थामा झैँ सेवा सञ्चालन गर्न सकिने भएको छ । प्रशासन कार्यालयको पुनःनिर्माण तथा मर्मत-सम्भारका लागि ४५ लाख रूपैयाँ खर्च भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताउनुभयो ।
हाल जिल्ला प्रशासनबाट नागरिकता, राहदानी, राष्ट्रिय मुद्दा स्थानीय प्रशासनलगायतका सम्पूर्ण सेवा पुनः सुचारू भएका छन्। राष्ट्रिय योजना आयोग तथा सहरी विकास समायोजनमा प्राविधिकरूपमा खटिएको संयुक्त टोलीले घटनाबाट बाँके जिल्लाभर कुल ५३ करोड रूपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरेको छ।
पूर्ण पुनर्निर्माणका लागि करिब ६७ करोड रूपैयाँ आवश्यक पर्ने बताइएको छ। प्रशासनले क्षति पुनःस्थापना कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।