तराई-मधेशमा चलेको शीतलहरका कारण जनजीवन कष्टकर, सरकार भने मूकदर्शक

पुस १४, २०८२ |अनिल मिश्र
तराई-मधेशमा चलेको शीतलहरका कारण जनजीवन कष्टकर, सरकार भने मूकदर्शक

जनकपुर । पुस महिनाको सुरूवातसँगै तराई मधेशमा चलेको शीतलहरका जनजीवन कष्टकर बनेको छ । 

लगातार ११ दिनदेखि घाम नलागेपछि दिनप्रतिदिन तापक्रम घट्दो छ । तर, शीतलहरको असरबाट बचाउनका लागि सरकारले अहिलेसम्म कुनै उपाय गरेको छैन् । सरकारले जाडो मौसमका लागि हिमाली तथा उच्च पहाडी क्षेत्रमा हुने हिमपात र तराईमा पर्ने शीतलहरलाई लक्षित गरी दुई छुट्टा-छुट्टै कार्ययोजना तयार पारेको भने पनि संघीय सरकारको प्रतिनिधि जिल्ला प्रशासन कार्यालयमा आगोको समेत व्यवस्था छैन्  ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि सेवाग्राही एकाबिहानै लाइनमा बसेका छन् । सरकारी र गैरसरकारी कामकाजका लागि सरकारले अनिवार्य लागू गरेपछि परिचयपत्र पाउने आशमा चिसो सिरेटोको कुनै प्रवाह नगरी बालबच्चा बोकेर महिलालगायत जेष्ठ नागरिकहरू पनि आउने गर्छन् । तर, लगातार ११ दिनदेखि शीतलहरसँगै चलेको चिसो हावाले जनजीवन कष्टकर भए पनि सेवाग्राहीका लागि अहिलेसम्म जिल्ला प्रशासन कार्यालयमा आगोको न्यूनतम व्यवस्था पनि छैन् ।

कठ्यांग्रिदो चिसोमा तप तप चुहिने शीतका कारण बजार र सरकारी अड्डाहरूमा सर्वसाधारणको चहलपहलमा कमि देखिए पनि जनकपुरधाममा भने भारतीय तीर्थयात्रीहरूको संख्या बढेको छ । भारतका विभिन्न प्रान्तका नागरिकहरू लुम्बिनी, काठमाडौं र जनकपुरधामको मठमन्दिरमा पूजा गर्न आउने गरेका छन् । आस्था र विश्वासका साथ आउने गरेका श्रद्धालुहरूको स्वागत त के स्थानीय, प्रदेश र संघीय सरकारले उनीहरूका लागि दाउराको समेत व्यवस्था मिलाउन सकेको छैन् ।

शीतलहरले सबभन्दा बढी प्रभावित गरिब र विपन्न समुदायका वृद्ध-वृद्धा, बालबालिका र सुत्केरी महिला हुँदै आएका छन् । न्यानो लत्ताकपडा र तातो पौष्टिक भोजनको अभावमा दैनिक मजदुरी गरेर गुजारा चलाउँदै आएकाहरूको स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ ।

विशेषगरी पुस र माघमा आकाशलाई कुहिरोले ढाक्ने र घाम नलाग्ने समस्याले दिउँसो र राति तापक्रममा खासै भिन्नता नभएर शीतलर चल्दा पैताला, टाउको, घाँटी, छाती र हातबाट शरीरमा चिसो पस्छ । जस्ले गर्दा झाडापखाला, रूघाखोकी, दम, बाथरोग लाग्ने, जीउ दुख्ने, मानसिक तनाव बढ्नेलगायतका स्वास्थ्य समयमा बढ्ने हुनाले विशेष सतर्कता अपनाउन न्यानो लुगा, तातो खाना र आवश्यक कामबाहेक जथाभावी घर बाहिर ननिस्कन चिकित्सकको सुझाव छ । 


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।