
काठमाडौं । जनता समाजवादी पार्टी-जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान निर्वाचन प्रणाली फेर्नु पर्ने बताउनु भएको छ ।
जसपा नेपालले विराटनगरबाट सुरू गरेको प्रदेशस्तरीय विरोध सभालाई सम्बोधन गर्नुहुँदै उहाँले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको जड भएकाले संसारकै गरिब मुलुकहरू मध्येको एक नेपालमा संसारकै महंगो निर्वाचन प्रणाली थोपरिएको बताउनुभयो । उहाँले अहिलेको निर्वाचन प्रणाली हटाएर पार्टी र उम्मेदवारले चुनाव जित्नका लागि करोडौं खर्च गर्न नपर्ने निर्वाचन प्रणाली ल्याउनु पर्ने बताउनु भयो ।
अध्यक्ष यादवले मुलुकलाई प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीले मात्रै मुलुकमा स्थिरता ल्याउने बताउनु भएको हो ।