.png&w=1000&height=550)
जनकपुर । सत्ता साझेदार सात दलबीच सहमति हुन नसक्दा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन ।
सात दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको २२ दिन बितिसके पनि यादव नेतृत्वको सरकारले पूर्णता पाउन नसकेको हो । संविधानको धारा १६८ को उपधारा २ अनुसार ७४ जना सांसदको समर्थनमा मंसिर १९ गते मुख्यमन्त्री बनेका यादवले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन ।
मन्त्रालय भागबन्डामा दलहरूबीच सहमति हुन नसकेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । यसैबीच एक साताभित्र सरकारले पूर्णता पाउने मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले दाबी गर्नुभएको छ । गएको पुस ४ गते मुख्यमन्त्री यादवसँगै अर्थमन्त्री जनमतका महेशप्रसाद यादव, नेकपा समाजवादीका कनिश पटेल उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री, माओवादी केन्द्रका जवाहर कुशवाहा ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री, शिक्षा तथा संस्कृतिमन्त्री लोसपाकी रानीकुमारी शर्मा तिवारी र स्वास्थ्य तथा जनसंख्यामन्त्री कांग्रेसका जंगीलाल राय बने पनि दलहरूबीच सहमति नभएकै कारण अन्य ६ वटा मन्त्रायको टुंगो लाग्न सकेको छैन ।