ताेकिएकाे मितिमा महाधिवेशन नहुने पक्का, कांग्रेसभित्र फेरि चुलियाे विशेष महाधिवेशनकाे विवाद

पुस ११, २०८२ |प्रकाश बम
ताेकिएकाे मितिमा महाधिवेशन नहुने पक्का, कांग्रेसभित्र फेरि चुलियाे विशेष महाधिवेशनकाे विवाद

काठमाडौं । पुष २६ गतेदेखि हुने भनिएको नेपाली कांग्रेसको १५औं महाधिवेशन क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण नसकिँदा स्थगित हुने निश्चित प्राय: छ। 

विशेष महाधिवेशन पक्षधरले पुस २८ भित्र विशेष महाधिवेशन गर्नुपर्ने मागसहित केन्द्रीय कार्यालयमा स्मरणपत्र बुझाएका छन्। महाधिवेशन अनिश्चित बनेसँगै कांग्रेसभित्र फेरि नियमित कि विशेष महाधिवेशन भन्ने विवाद बल्झिएको हो। असोज २८ मा सुरू भएर मंसिर १५ मा सम्पन्न केन्द्रीय समिति बैठकले पुष २६ देखि २९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पास गरेको थियो । तर कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण नसकिँदा महाधिवेशन तोकिएको मितिमा हुन नसक्ने अवस्था बनेको छ ।

क्रियाशील सदस्यता व्यवस्थापनका लागि महामन्त्री गगन थापाको नेतृत्वमा समिति गठन गरिएको थियो । तर समितिले कार्यतालिकाअनुसार काम गर्न नसक्दा हालसम्म करिब ७० प्रतिशत मात्र सदस्यता नवीकरण भएको छ । पुसको कार्यतालिका आउनु अगावै संस्थापन पक्षबाट सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गते महाधिवेशन गर्ने प्रस्ताव राख्नु भएको थियो । 

देउवाको हस्तक्षेपपछि त्यसबेला सहमति बने पनि अहिले आएर महाधिवेशन हुन नसक्ने तर्क अघि सारिएको छ । महाधिवेशन हुन नसक्ने स्थिति बनेपछि विशेष महाधिवशेन पक्षधरले २८ पुसभित्र विशेष महाधिवेशन हुनैपर्ने मागसहित केन्द्रीय कार्यालयमा स्मरणपत्र बुझाएका छन् । 

कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बोधार्थ गरिएको स्मरणपत्रमा माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन हुनैपर्ने उल्लेख गरिएको छ । उक्त समुहले ५४ प्रतिशत महाधिवेशनको हस्ताक्षरसहित असोज २९ मा निवेदन पेस गरेका थिए । 

विधान बमोजिम तोकिएको अवधिभित्र १५औं महाधिवेशन सम्पन्न गर्ने कुनै गम्भीर प्रयास वा नियत नदेखिएको भन्दै त्यो समूहले पुन: विशेष महाधिवेशन स्मरण गराएको छ । विशेष महाधिवेशन मागकर्ताहरूले पार्टीलाई बुझाएको स्मरण पत्र महामन्त्री थापाले बुझ्दै नियमित महाधिवेशन नहुने भएपछि विशेष महाधिवेशनमा जानुको अर्को विकल्प नरहेको बताउनुभयो । 

थापाले विशेष महाधिवेशन पुस मसान्तसम्म गर्नु केन्द्रीय कार्यसमिति र कार्यवाहक सभापति पूर्णबहादुर थापाको अनिवार्य जिम्मेवारी भएको भएको भन्दै अब विशेष महाधिवेशनमा जाने तर्क गर्नुभयो । अर्का महामन्त्री विश्वप्रकाश शर्माले विधानमा भएको व्यवस्था पालना गर्नु केन्द्रीय कार्य समिति र कार्यवाहक समितिको जिम्मेवारी भएको स्मरण गराउनुभयो ।

यता संस्थापन पक्षले सदस्यता व्यवस्थापन समितिको असफलता लुकाउन विशेष महाधिवेशनको विषय उठाइएको आरोप लगाएको छ । त्यसको जवाफमा गगन थापाले नियतबस सदस्यता रोकेर समितिलाई असफल देखाउने प्रयास भइरहेको बताएका छन् । आन्तरिक विवाद र प्राविधिक तयारीको अभावका कारण नेपाली कांग्रेस फेरि विवादको घेरामा परेको छ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।