
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबीच एकताका लागि सुरू भएको छलफल अन्तिम चरणमा पुगेको छ।
दुई पक्षबीच पार्टी एकता गर्ने, त्यसको नेतृत्व रवि लामिछानेले गर्ने, पार्टीले आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि बढाउने गरी सहमतिको खाकामा छलफल भइरहेको हो। शक्रबारका लागि छलफल सकिएको र शनिबार फेरि थप छलफल गरी सम्झौता गर्ने तयारी भएको छलफलमा सहभागी रास्वपा नेता शिशिर खनालले बताउनुभएको छ।
दुवै पक्षका नेताहरूले शुक्रबार पटक-पटक छलफल गरेर सहमतिको खाकालाई अन्तिम रूप दिने प्रयास गरेका हुन् । शुक्रबारको छलफलमा रास्वपाबाट शिशिर खनाल र असिम शाह तथा बालेन्द्रका तर्फबाट कुमार बेन र भुपदेब शाहबीच छलफल भएको हो ।
सम्झौताको मस्यौदामाथिको शुक्रबारको छलफल सकिएको छ । बालेन्द्रले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसमेत आफ्नो पक्षमा रहेको भन्दै एकमुष्ठ सहमति खोजे पनि हाललाई रास्वपासँग सहमति गर्ने र त्यसपछि घिसिङसँग सहमतिका लागि प्रयास गरिने बुझिएको छ।
निर्वाचनमा प्रधानमन्त्रीका रूपमा बालेन्द्रलाई अघि बढाउँदा पार्टीमा उहाँको वरियता के हुने भन्नेमा पनि छलफल भएको छ। छलफलमा सहभागी नेताहरूका अनुसार पार्टीमा बालेन्द्र सभापति रवि लामिछानेपछिको दोस्रो वरियतामा रहनेमा दुबै पक्ष सहमत भएका छन्। यसबाहेक निर्वाचनका लागि उम्मेदवारको टिकट बाँडफाँट दुबै पक्षको सहमतिमा गर्ने, समानुपातिकतर्फको सूची पनि सहमतिमै तय गरिने लगायतका विषयमा समेत एकमत भएको छ।
रास्वपाको चुनाव चिन्ह, झन्डा र नेतृत्व स्वीकार्ने गरी बालेन्द्रको पक्ष एकताका लागि तयार भएको छलफलमा सहभागी एक नेताले बताए । यसबाहेक दुई पक्षबीच सम्झौता हुँदा जेन-जी समूहहरूलाई पनि एकतामा ल्याउने दुई पक्षको तयारी छ। कान्तिपुरसँग कुरा गर्दै जेन-जी अगुवा पुरूषोत्तम यादवले आफ्नो समूहसहित सुदन गुरुङ समूह, रक्षा बम समूह, हाउ टु देश विकास समूहलगायत पनि एकतामा आउने दाबी गर्नुभयो।
अर्का जेन-जी अगुवा रिजन राना मगरले भने बालेन्द्रसँग बिहिबार कुराकानी भए पनि सहमति भइनसकेको बताउनुभयो। बालेन्द्र र रास्वपाबाट संविधान, धर्मनिरपेक्षता, संघीयता लगायतका विषयमा ठोस प्रतिबद्धता आएको खण्डमा सहकार्य हुन सक्ने जिकिर गर्नुभयो। यादवले भने रास्वपाको केन्द्रीय समितिमा जेन-जीका प्रतिनिधिको उल्लेखनीय सहभागिता सुनिश्चित गर्ने गरि कुराकानी भएको र त्यसमा आफू सकारात्मक रहेको जानकारी दिनुभयो।
यसअघि कुमार बेनको ललितपुरको ज्वागलस्थित घरमा बालेन्द्रले बुधबार बिहानदेखि बिहीबार अबेरसम्मै राजनीतिक भेटघाट गर्नुभएको थियो । बालेन्द्रलाई भेट्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईदेखि अमरेशकुमार सिंह, राप्रपा नेता ज्ञानेन्द्रबहादुर शाही, कांग्रेस नेता सुनिल शर्मासहित नागरिक समाजका अगुवाहरूसमेत ललितपुरको ज्वागल पुगेका थिए।
बालेन्द्रले आफ्नो योजनाबारे सुझाव लिन सञ्चार उद्यमी सम्भव सिरोहिया, पूर्वसचिव भीम उपाध्याय, विवेकशिल साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डेलगायतसँग पनि भेट गर्नुभएको थियो।