
काठमाडौं । वैकल्पिक शक्ति निर्माण गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले सक्रियता बढाएका छन् ।
फागुन २१ गते हुने निर्वाचनमा वैकल्पिक शक्ति एक भएर जानुपर्ने भन्दै गत सोमबार राति ६ घण्टाभन्दा बढी छलफल गरेका लामिछाने र शाहबीच आज पनि भेटवार्ता भएको हो । सोमबार भएको छलफल निष्कर्षमा पुग्न सकेको थिएन । खासगरी बालेन्द्र शाहले एकता गर्न आफू तयार रहेको तर आफूलाई कार्यकारी अध्यक्ष या त प्रधानमन्त्रीको रुपमा अघि सार्न आग्रह गर्नुभएको थियो । त्यसमा रास्वपा सभापति लामिछनेको प्रष्ट धारणा नआएपछि हिजोदेखि आफू निकटको देश विकास पार्टीलाई अघि बढाउने रणनीतिमा शाह देखिनुभएको हो । हिजो उहाँले जेन-जीदेखि विभिन्न दलका नेतासँग भेटघाट गर्नुभएको थियो ।
बालेन्द्र शाहले पार्टीकै रुपमा काम कार्वाही अघि बढाएपछि रास्वपाले लचकता देखाउँदै संवादको लागि प्रस्ताव गरेको शाहनिकट स्रोतले जनाएको छ । त्यही अनुसार आज दुईबीच छलफल जारी छ । लामिछानेसँग भेट गर्नु्अघि शाहले उज्यालो नेपाल पार्टीको अगुवाइ गरिरहनुभएका मन्त्री कुलमान घिसिङसँग पनि भेट गर्नुभएको थियो । उहाँहरुबीच पनि एकताका लागि सकारात्मक वार्ता भएको रहेको बुझिएको छ ।