नर्भिकमा पाठेघरको सालसम्बन्धी जटिल अवस्थाकी गर्भवतीको सफल प्रसूति

पुस १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
नर्भिकमा पाठेघरको सालसम्बन्धी जटिल अवस्थाकी गर्भवतीको सफल प्रसूति

काठमाडौं ।  नर्भिक इन्टरनेशनल अस्पतालमा पाठेघरको सालसम्बन्धी जटिल अवस्थाको सफल शल्यक्रियामार्फत् प्रसूति गराइएको छ। पाठेघरको मुख तथा भित्तामा साल टाँस्सिने जटिल अवस्था (सेन्ट्रल प्लासेन्टा प्रिभिया विथ प्लासेन्टा परक्रिटा) दुवै समस्या भएकी महिलाको सफल शल्यक्रियामार्फत् प्रसूति गराइएको हो। मातृमृत्युदर उच्च रहने यस्तो केस दुर्लभ अवस्था हो।

अस्पतालकी प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख प्राडा अचला वैद्य नेतृत्वको टिमले गत मंसिर दोस्रो साता बाँके नेपालगन्जकी महिलाको सी–सेक्सनमार्फत् प्रसूति गराएको हो। आमा र बच्चा दुवैको अवस्था सामान्य भएपछि बिरामी डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ।

शल्यक्रियामा डा वैद्यसहित प्राडा अमृता गिरी, डा सुरेश कायस्थ र डा सविना अर्याल हुनुहुन्थ्यो भने एनेस्थेसियामा डा प्रज्वल श्रेष्ठ, डा सुरेश लामिछाने र डा विनोद तिमल्सिना संलग्न हुनुहुन्थ्यो।

२० हप्तादेखि नियमित गर्भ परीक्षण गर्दै डाक्टरको निगरानीमा रहेकी ती महिलाको ३७ हप्तामा सी–सेक्सनमार्फत् प्रसूति गराइ आमा र बच्चाको दुवै बचाउन अस्पताल सफल भएको हो। ‘उहाँको केस अन्य सी–सेक्सनभन्दा फरक थियो, किनकि सर्जरी गरेर बच्चा निकाल्ने ठाउँमा नै उहाँको साल पाठेघरमा फैलिइसकेको अवस्था थियो, यो सर्जरी हाम्रो लागि पनि जटिल थियो,’ डा वैद्यले भन्नुभयो, ‘निकै संयमता अपनाएर सफल प्रसूतिमार्फत् आमा र बच्चा दुवैको ज्यान बचाउँन सफल भयौं।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.