कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावित

पुस १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावित

धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरमा पछिल्ला दिनहरूमा घना कुहिरो र हुस्सुले जनजीवन प्रभावित बन्दै गएको छ ।  तराई क्षेत्रमा जाडो याममा नियमित रूपमा देखिने यो मौसमी समस्या यस वर्ष पनि उत्तिकै कष्टकर बनेको छ । बिहानको समयमा भिजिविलिटि निकै कम हुने भएकाले सवारी साधनहरूको गति कम हुने गरेको छ । 

सडकमा हेडलाइट बालेर पनि गाडी चलाउन कठिनाइ भइरहेको चालकहरूले बताएका छन् । यसले दुर्घटनाको जोखिम बढाएको छ । साथै जनकपुर विमानस्थलमा पनि कुहिरोका कारण उडानहरू प्रभावित भएका छन् । यसअघि नै तराईका विभिन्न विमानस्थलहरू (जनकपुर, भैरहवा र सिमरा) खराब मौसमका कारण बन्द भएको समाचार सार्वजनिक भएको थियो । कुहिरो र हुस्सुले दैनिक कामकाजमा समेत असर परेको छ । 

बिहानको समयमा बजार, स्कुल र कार्यालयहरूमा मानिसहरू ढिलो पुग्ने गरेका छन् । चिसो बढेसँगै श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीहरू बढेका अस्पतालहरूले जनाएका छन् । विशेष गरी वृद्धवृद्धा र बालबालिकाहरू बढी प्रभावित भएका छन् । मौसम विज्ञान विभागकाअनुसार तराई क्षेत्रमा कुहिरो र हुस्सु केही दिनसम्म कायम रहने सम्भावना छ । विभागले शतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न सल्लाह दिएको छ । जनकपुरवासीहरूले कुहिरोका कारण दैनिकी कष्टकर बनेको गुनासो गरेका छन् ।

यो मौसमी प्रभाव तराईका अन्य शहरहरूमा पनि उस्तै देखिएको छ । मौसम सुधार नभएसम्म जनजीवनमा यस्तै असुविधा कायम रहने भएकाले शतर्कता अपनाउन आग्रह गरिएको छ । चिसोले बालबच्चालाई विद्यालय जान कठिन भएको छ भने सामान्य जनजीवन चलाउन समेत समस्या भएको छ । व्यापार व्यवसाय ठप्प छ । मानिसहरु चिसोले घरबाहीर निस्कन सकेका छैनन् । स्थानीयले केही समय सार्वजानिक विदा दिन समेत आग्रह गरेका छन् । 

चिसो बढेपछि स्थानियले सडक, चोकमा दाउरा बालेर आगो ताप्न थालेका छन् । चिसोबाट बच्न जनकपुर महानगरपालिकाले ध्यान नदिएको जनकपुरका स्थानीय बासिन्दाले गुनासो छ । उनीहरुले चिसोबाट जोगिनको लागि स्थानीय सरकारले चोक चोकमा दाउरा बाल्ने व्यवस्था गरेमा राम्रो हुने बताएका छन् । चिसोबाट बच्नको लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने स्थानीयको माग छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.